
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।
आइतवार अपराह्न ४:१२ मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुर्याएका खाँणलाई त्यहाँबाट करीब साढे ४ बजे अदालततर्फ लगिएको हो ।
यसअघि बुधवार पाएको ३ दिनको म्याद शुक्रवार मध्यरातिबाट सकिएको थियो । शनिवार सार्वजनिक बिदा परेकाले आइतवार म्याद थपका लागि लगिएको हो ।
सरकारी वकिलको कार्यालयबाट अदालततर्फ लैजाने क्रममा खाँणले संक्षिप्त प्रतिक्रिया दिए ।
तपाईंमाथिको आरोपबारे के भन्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा खाँणले- 'म संलग्न छैन' भन्ने जवाफ दिए ।
खाँण बुधवार चाबहिल मैजुबहालस्थित निवासबाटै पक्राउ परेका थिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
खाँणले स्वकीय सचिव नरेन्द्र केसीमार्फत तथा मनी ट्रान्सफरमार्फत रकम बुझेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ ।
यसप्रकरणमा खाँणसहित १२ जना पक्राउ परी प्रहरी हिरासतमा छन् ।