
ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार याम सकिएको छ । शिकारीले नाउर र झारलको शिकार गरेर फर्किएसँगै शिकार याम अन्त्य भएको हो ।
दोस्रो शिकार याममा ढोरपाटनमा १२ नाउर र ६ झारलको शिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामको लागि ९ झारलको कोटा निर्धारण गरे पनि ३ झारलको कम शिकार भएको हो ।
हिमालयन सफारिज प्रालिबाट आएका ३ विदेशी शिकारीले यसपटक निर्धारित कोटामा ३ झारलको शिकार गर्न नसकेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए । बोलपत्र प्रक्रियाबाट छानिएका ७ कम्पनीमार्फत ८ देशका पेसेवर विदेशी शिकारीले यस वर्षको दोस्रो याम (फागुन–वैशाख)मा शिकार गरेका थिए ।
यसपटक सिकारीले १ नाउरको ५ लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि ३ लाख १० हजारसम्म राजस्व तिरेका थिए । पहिलो याममा १ नाउरको २० लाख ५ हजार र झारलको ६ लाख राजस्व बुझाइएको थियो ।
शिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।
यस वर्षको पहिलो सिजनमा ८ नाउर र ६ झारलको शिकार कोटा निर्धारण गरिए पनि ७ नाउर र ५ झारलको सिकार भएको थियो । आरक्षमा शिकार गरेपछि अधिकांश सिकारीले मासु खान्छन् भने सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् ।
अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।