
काठमाडौँ, २० भदौ । बाढीपीडितको सहयोगार्थ रामप्रसाद राई स्मृति प्रतिष्ठानको अगुवाइमा विभिन्न संघसंस्था एवं विद्यालयको सक्रिय सहयोगमा मोरङ जिल्लामा बाढीमा परी मृत्यु हुने १२ परिवारलाई जनही रु १५ हजार दिइएको छ ।
प्रतिष्ठानका अध्यक्ष एवं सांसद तारादेवी राई तथा एम्बिसन कलेजका निर्देशक तथा प्रतिष्ठानका सचिव देवीप्रसाद घिमिरेको टोलीले यही भदौ १३–१५ गते पीडितको घरदैलामै गएर राहतस्वरुप मृतकका परिवारलाई राहत वितरण गरेको हो ।
सोही अवसरमा इटहरीका साहसी महिला सानुमाया राई(११ किमी बगेर पनि बाँच्न सफल), राधादेवी राई( नवजात शिशुसहित अरुको सुरक्षा गरेको), माकिम राई(घरको छाना फोरेर अरुको परिवार बचाएको) लाई जनही रु १० हजार राहतस्वरुप वितरण गरिएको छ ।
विराटनगर परोपकार घाटमा बस्दै आएका पीडित लालबहादुर श्रेष्ठको परिवारलाई रु छ हजार राहत वितरण गरिएको छ । काठमाडौँका विभिन्न संघसंस्था, विद्यालय, कलेज, समाजसेवी राजकुमार राई, जेशिका चेम्जोङलगायतबाट संकलित राहतको संयोजन प्रतिष्ठानले गरेको थियो कार्यक्रममा स्थानीय समाजसेवी तथा प्रहरी प्रशासनले सहयोग पु¥याएका थिए ।
जया मल्टिपल क्याम्पस, एम्बिसन कलेज, ग्लोबल पाठशाला, आनन्द इभेन्ट, न्यु अरुणोदय स्कुल र माउन्ट एभरेष्ट स्कुलका विद्यार्थीले एक दिनको खाजा खर्च कटाएर जम्मा गरेको रकम तथा विभिन्न महानुभावद्वारा संकलित रकम राहतस्वरुप वितरण गरिएको कार्यक्रम संयोजक देवी घिमिरेले बताउनुभयो ।