थाइल्यान्डमा आइतवार भएको आमनिर्वाचनमा विपक्षी दलहरूले शानदार प्रदर्शन गरेका छन् ।
कुल ५०० सीटका लागि भएको निर्वाचनमा मुभ फर्वार्ड पार्टीले १५१ सीट जितेको छ ।
अनि पूर्व प्रधानमन्त्री थाकसिन शिनावात्राकी छोरीको नेतृत्वमा रहेको फेउ थाइ दल १४१ सीटका साथ दोस्रो स्थानमा छ ।
सेनासँग निकट रहेका दलहरूको सत्तारूढ गठबन्धनले जम्मा १५ प्रतिशत सीट जितेको छ । सन् २०१४ मा कू गरी सत्तामा आएका प्रधानमन्त्री प्रयुत चान–ओचालाई परिणामले झड्का दिएको छ ।
प्रयुत सरकारबाट अधिकांश जनता भाग्न चाहेको र परिवर्तनको पक्षमा रहेको यस मतपरिणामले देखाएको थम्मासात विश्वविद्यालयका राजनीतिशास्त्री प्रजाक कोङकिरातीले बताए ।
सामाजिक सञ्जालमा मुभ फर्वार्ड पार्टीका समर्थकहरूले विजय सन्देश पोस्ट गरिरहेका छन् । उनीहरूले आफ्नो दलको जीतलाई परिवर्तनको लहर तथा नयाँ युगको आरम्भ भनी व्याख्या गरेका छन् ।
मुभ फर्वार्डका ४२ वर्षीय नेता पिता लिमजारोएनरातले आफू देशको ३०औं प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् ।
फेउ थाई पार्टीसँग मिलेर गठबन्धन सरकार बनाउन आफू तयार रहेको पनि उनले बताए ।
तर देशको सिनेटमा सेनाको पकड रहेकाले विपक्षी दलहरूलाई सरकार बनाउन त्यति सहज चाहिँ छैन ।