
लोकप्रिय टेलिभिजन सिरियल ‘सक्किगोनि’को तेस्रो सिजन यही जेठको दोस्रो साताबाट प्रसारणमा आउँदैछ ।
निर्माण टिमले केही दिनअघि मर्मस्पर्शी टिजर सार्वजनिक गर्दै जेठ ११ गतेबाट सिरियल प्रसारणमा आउने घोषणा गरेको थियो ।
प्रसारण मिति नजिकिँदै गर्दा अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ यतिबेला सिरियलको स्क्रिप्ट लेखनमा लागिपरेका छन् ।
कमेडी जनराको यो सिरियलमा अर्जुन र कुमारको लेखन, निर्देशन एवं शीर्ष भूमिकामा अभिनय समेत रहँदै आएको छ ।
लोकान्तरसँग कुरा गर्दै अर्जुन घिमिरेले यतिबेला आफूहरू दिनरात नभनी स्क्रिप्ट लेखनमा लागिपरेको बताए ।
सिरियल परिस्कृत हुने/नहुने भन्नेबारे स्क्रिप्ट लेखन सकिएपछि मात्रै तय हुने उनले जानकारी दिए ।
‘अहिले स्क्रिप्ट लेख्दै भएकाले सिरियल परिमार्जित हुने वा नहुने यसै भन्न सक्दैनौँ’ उनले भने ‘कलाकारहरू थपिने वा नथपिने पनि स्क्रिप्ट सकेपछि मात्रै निर्णय हुन्छ ।’
तेस्रो सिजनमा अघिल्ला सिजनका कलाकारहरूको भने निरन्तरता रहनेछ ।
सिरियललाई दर्शकले रुचाउने खालको बनाउने र राम्रा विषयवस्तु समेट्ने प्रयास आफूहरूको रहने अर्जुनले बताएका छन् ।
हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजे सिरियल प्रसारण हुनेछ । टेलिभिजनमा प्रसारण सुरु भएको १ घण्टापछि सिरियल युट्युबमा प्रसारणमा आउनेछ ।
यो सिरियलमा अभिनय गर्ने अधिकांश पात्रहरू दर्शकमाझ चर्चित छन् ।