
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सन्चो नभएको बताएपछि बयान लिने काम भोलि(मंगलवार)सम्म लम्बिएको छ । सोमवार बयानका लागि सरकारी कार्यालयमा उपस्थित भएसँगै उनले पेट ठीक नभएको बताएका थिए ।
साढे ११ बजेदेखि झण्डै साढे २ घण्टा सरकारी वकिलको कार्यालयमा रहेका उनी पेट सन्चो नभएको भन्दै एकपटक शौचालय गएका थिए । ‘सन्चो छैन, पेट ठीक छैन भनेपछि आज बयान सकिएन, भोलि पुनः बयान हुन्छ’ सरकारी वकिल कार्यालय स्रोतले लोकान्तरसँग भन्यो ।
पहिलो दिनको बयानमा खाँणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बयानका क्रममा उनले एक कप चिया र तीन गिलास पानी पिएका थिए ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार पहिलो दिन खाँणसँग धेरै सवाल-जवाफ भएन । अधिकांश समय सन्चो-बिसन्चो र अनौपचारिक कुराकानीमै गएको थियो । बयानका क्रममा आज विषय प्रवेश भए पनि भोलिदेखि सवाल जवाफ हुने कार्यालय स्रोतले जनाएको छ ।
उनलाई दोस्रो पटक म्याद थपेर सरकारी वकिलको कार्यालयमा सोमवार बयान शुरू भएको थियो ।
वैशाख २७ गते पक्राउ परेका खाणलाई आइतवार थुनामा राख्न दोस्रो पटक म्याद थपिएको थियो । जिल्ला सरकारी वकिलको रोहवरमा प्रहरीको अनुसन्धान अधिकृतले बयान लिएका थिए ।
गृहमन्त्री रहेको समयमा आर्थिक लाभ लिएर नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने काममा प्रत्यक्ष सहयोग पाइएपछि खाँणलाई पक्राउ गरिएको थियो । नक्कली शरणार्थी प्रकरणमा उनी गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।
खाणसँग पहिलो दिनको बयान सकिएपछि नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा पुर्याइएको थियो । रायमाझी आइतवार राति पक्राउ परेका हुन् ।