काठमाडौं, २० भदौ– उमेरले ४३ पुगिसकेकी अभिनेत्री करिश्मा मानन्धर दुई वर्षदेखि सक्रिय राजनीतिमा पनि छन् । तर अब उनको परिचयका अगाडि विद्यार्थी शब्द थप्दा पनि आपत्ति हुने छैन ।
१४ वर्षको उमेरमा फिल्मी दुनियाको दैलो टेकेकी करिश्मा अहिले आएर स्कुले ‘बालिका’ बनेकी छन् । सिक्ने क्रमलाई उमेरले पक्कै पनि छेक्दैन । करिश्माकै शब्दमा उनको पढाई कतिपय नेपाली नारीका लागि प्रेरणा पनि बन्न सक्छ ।
नेपाली फिल्म क्षेत्रकी ‘सबैभन्दा सफल’ अभिनेत्रीबाट डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेर राजनीतिको समेत अनुभव बटुलीसकेकी करिश्मालाई विद्यालयको पढाइ कस्तो लागिरहेको छ त ?
सोमबार राजधानीको तीनकुनेस्थित सिद्धार्थ कटेजमा नयाँ शक्ति नेपालले आयोजना गरेको पत्रकारसँगको भेटमा करिश्माले जीवनको उत्तरार्धमा सुरु भएको आफ्नो स्कुले जीवनको अनुभव साटासाट गरिन् । पत्रकार भेटघाटमा उपस्थित लोकान्तरकर्मीले करिश्माको अनुभवलाई भिडियोमा उतारेका छन् ।