
काठमाडौं, २० भदौ — नेपालीको प्रिय खाजा आइटममा चाउमिन पनि पर्छ । चाउमिन मीठो हुन्छ र यसमा टन्न सागपात हालेर पौष्टिक पनि बनाउन सकिन्छ । हामी यहाँ तपाईंलाई चाउमिन बनाउन सिकाउँछौं ।

सामग्री
चाउमिन नूडल्स एक प्याकेट
गाजर एक (लामो गरी काटेको)
भेडेखुर्सानी एक (लामो गरी काटेको)
बन्दाकोबी एक कप (मसिनो गरी काटेको)
तेल दुई चम्चा
नून स्वादअनुसार
मरिच एक चौथाइ सानो चम्चा
अदुवा एक इन्च लामो टुक्रा
सोया सस दुई चम्चा
चूक अमिलो एक चम्चा
विधि
नूडल्स भाँचेर टुक्रा बनाउनुस् । सबै नूडल्स मज्जाले डुब्ने गरी एक भाँडोमा पानी हाल्नुस् । त्यो पानीमा नून र दुई चम्चा तेल हालेर उमाल्नुस् । आठ मिनेट जति उमालेपछि नूडल्स नरम हुन्छ । अब यसलाई छानेर पानी एकातिर राख्नुस् । नूडल्सलाई चाहिँ चिसो पानीले धुनुस् ।
अब एउटा कराहीमा तेल तताउनुस् । तातो तेलमा अदुवा, गाजर, भेडेखुर्सानी र बन्दाकोबी हालेर दुई मिनेटसम्म पकाउनुस् । त्यसपछि त्यसैमा नूडल्स, नून, सोया सस, मरिच, चिल्ली सस र चूक अमिलो हालेर पाँच मिनेटसम्म पकाउनुस् ।
भेज चाउमिन तयार भयो । प्लेटमा तात्तातो पस्किनुस् र त्यसमाथि सस हालेर खानुस् ।
एजेन्सी