
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका अतिरिक्त महानिरीक्षकहरू (एआईजी)ले सीमा क्षेत्रमा छड्के निरीक्षणलाई तीव्रता दिएका छन् ।
सीमा नाकामा अनुगमनका क्रममा कहीँकतै कमिकमजोरी भेटिए टोली परिवर्तन गर्नेदेखि कमाण्डबाट हटाउनेसम्मको जिम्मेवारी उनीहरूले पाएका छन् ।
निरीक्षण तथा अनुगमनकै क्रममा मानवश्रोत विभाग प्रमुख एआईजी नारायणदत्त पौडेलले लुम्बिनि प्रदेश अन्तर्गत बाँकेस्थित बीओपी बढैया, जयसपुर, गंगापुर जमुनाह तथा कपिलवस्तुस्थित चाकडचौडा, मर्यादपुर, हथिहवा, हर्दौना, भिल्मीलगायतका सीमा नाका अनुगमन र निरीक्षण गर्नेछन् । साथै उनले बर्दिया, रुपन्देही र नवलपरासीका सीमा नाकाको समेत अनुगमन गर्नेछन् ।
बाँके र कपिलवस्तुस्थित सीमानामा रहेका युनिट अनुगमन तथा निरीक्षणका क्रममा उनले सीमामा हुनसक्ने चोरीपैठारी नियन्त्रणमा निर्मम रुपमा प्रस्तुत हुन र कुनै पनि प्रकारको सम्झौता नगर्न निर्देशन दिएका छन् ।
अवैध क्रियाकलाप रोक्नका साथसाथै सीमामा सरोकारवाला निकायसँगको समन्वयमा सीमास्तम्भको अनुगमन, रेखदेख तथा वर्षातको समयमा विशेष गरी सानाखालका सीमा स्तम्भ बगाउने तथा पुरिनसक्ने भएकोले त्यसलाई विशेष प्राथमिकतामा राख्न उनले निर्देशन दिएका छन् ।
यसअघि, कार्य विभाग प्रमुख एआईजी चन्द्रप्रकाश गौतमले गत चैत र वैशाखमा कोशी प्रदेश तथा सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाका सीमा नाका अनुगमन गरेका थिए ।
कोशी प्रदेश अन्तर्गत इलाम, झापा, मोरङ, सुनसरी जिल्लाका सीमा क्षेत्रमा रहेका गण तथा बीओपी अनुगमनका क्रममा उनले विशेष गरी भन्सार इलाकामा कडाईकासाथ कर्तव्यपालना गर्न र राजश्व संकलनमा गम्भीर भएर लाग्न निर्देशन दिएका थिए । सुदूरपश्चिम प्रदेशका सीमा नाकासमेत उनले अनुगमन गरेका थिए ।
सीमा नाकामा आवतजावत गर्ने नागरिकलाई सहज र सजिलो वातावरण बनाउनका साथै विभिन्न आवरणमा हुनसक्ने चोरीपैठारी नियन्त्रणका साथसाथै लागूपदार्थ ओसारपसारमासमेत उच्च निगरानी गर्न उनले निर्देशन दिएका छन् ।
यसैगरी, सीमा सुरक्षा विभाग प्रमुख एआईजी वंशीराज दाहालले वैशाख अन्तिम हप्ता बागमती प्रदेश अन्तर्गत रसुवा, सिन्धुपाल्चोक तथा दोलखाको सीमा युनिटहरूको आकस्मिक निरीक्षण तथा अनुगमन गरेका थिए । अनुगमनका क्रममा उनले चोरीपैठारी नियन्त्रण र वन्यजन्तुका अंगहरूको हुनसक्ने तस्करी नियन्त्रणमा परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिएका थिए ।
केही महिना यता एपीएफ नेपालले एआईजीहरूको नेतृत्वमा सीमा अनुगमनलाई तीव्रता दिँदै आएको छ ।