१९ असार २०८३, शुक्रबार

मौरिस हर्गोज पदमार्गको प्रवर्द्धन गर्दै अन्नपूर्ण गाउँपालिका

मौरिस हर्गोज पदमार्गको प्रवर्द्धन गर्दै अन्नपूर्ण गाउँपालिका
प्रतिकात्मक तस्वीर

म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रवर्द्धन थालिएको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमाल ८ हजार ९१ मिटर अग्लो छ । 

नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रवर्द्धनका लागि जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी लगायतको टोलीले पैदलयात्रा थालेका हुन् । सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए ।

हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई उनकै नाममा नामकरण गरिएको छ । 

८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो मानव पाइला परेको अन्नपूर्ण जेठो हिमाल हो । मौरिसले अन्नपूर्ण आरोहण गरेको ३ वर्षपछि सन् १९५३ मे २९ तारिखमा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथा पहिलो पटक आरोहण गरेका थिए । आधार शिविर पदयात्रामा जान लागेको टोलीलाई बिहीवार पोखरेबगरमा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बिदाइ गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायीसहित ३० जनाको टोली नारच्याङ–छोटेपा–हुमखोला हुँदै शुक्रवार बिहान आधार शिविर प्रस्थान गरेको छ । 

पोखरेबगरदेखि हुमखोलासम्म गाडीमार्फत गएको टोलीले त्यहाँदेखि ४ हजार १०० मिटर उचाइमा रहेको आधार शिविरसम्म पैदलयात्रा गर्ने कार्यक्रम छ ।  आधार शिविरमा दौड प्रतियोगिता र पर्यटन प्रवद्र्धन सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

गाउँपालिकाका अध्यक्ष पुनले सहज रूपमा छोटो पैदलयात्रा गरेपछि पुगिने र सुरक्षित अन्नपूर्ण आधार शिविरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि २०७६ सालमा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्