०६ असार २०८३, शनिबार

कफी खेतीमा जोड दिँदै खानीखोला

कफी खेतीमा जोड दिँदै खानीखोला

खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि महाभारत पर्वतशृंखलामा अवस्थित स्थानीय तह हो । गाउँपालिकाले १ वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्धवृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ ।  
    
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ खानीखोला  विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको बताउँछन् । उनले भौतिक पूर्वाधारसँगै विशेष गरी शिक्षा र कृषि क्षेत्रमा जोड दिएको बताए ।

‘१ वर्षमा सामाजिक न्याय, सुशासन र विकासका थुप्रै काम भएका छन्,’ थिङले भने ।
    
सो अवधिमा कृषकलाई कफीमा अनुदान वितरणदेखि गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न मन्त्रिपरिषद्बाट जग्गा स्वीकृत गर्ने काम भएको छ । १ देखि १० कक्षासम्मका असहाय बालबालिकाका लागि आवासिय शिक्षणको व्यवस्था गरिएको छ । ‘जसको उत्पादनः उसैलाई अनुदान’ कार्यक्रममार्फत खानीखोलालाई कफी पकेट क्षेत्रसँगै कृषकको आर्थिक जीवनस्तर वृद्धि गर्ने उद्दश्यले कफीमा प्रतिकिलो ३५ रुपैयाँको दरले अनुदान दिइएको छ । 

‘खानीखोलालाई सदरमुकाम तथा संघीय राजधानीसँग जोड्न प्राथमिकताका साथ काम गरेका छौं,’ उनले भने । खानीखोला ३, ४ र ५ को वडा भवन निर्माण सम्पन्न गरी सेवा शुरू गरिएको छ । सुस्त गतिमा निर्माणाधीन बाग्मती खोलास्थित सिक्रेदोभानमा पक्की पुल  निर्माण तीव्र पारिएको छ ।

नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी एम्बुलेन्स सेवा, सामुदायिक स्वास्थ्यचौकी भवन निर्माण, यस शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत पहिलो पटक ११ विद्यालयमा मातृभाषा (तामाङ) भाषा शिक्षणको शुरूआत, सुकुम–धाप्ले महाँकालको सडकको ट्रयाक खोल्ने र संस्थागत खेलकुदको विकास गर्न प्रत्येक वर्ष सञ्चालन हुने गरी ‘खानीखोला कप खेलकुद प्रतियोगिता’को शुरूआत गरिएको अध्यक्ष थिङले जानकारी दिए ।
    

salt training

कमेन्ट गर्नुहोस्