
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रतिनिधिसभाको बिहीवार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरूबीच सवाल–जवाफ गरिएको छ । विभिन्न दलबाट प्रतिनिधित्व गर्ने तथा स्वतन्त्र सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले एक–एक गरी जवाफ दिए ।
प्रधानमन्त्रीलाई लडाकू शिविर अनियमितता, नक्कली शरणार्थी प्रकरणदेखि आसन्न भारत भ्रमणसम्मका प्रश्न सोधिएको थियो । सो क्रममा प्रधानमन्त्रीले आफूमाथि नै लागेको अनियमितताको आरोप खण्डन गरे । आरोप पुष्टि भए जेल जान तयार रहेको उनको भनाइ थियो । यस्तै देशमा सुशासन कायम गर्न सरकार गम्भीर भएर लाग्ने उनको भनाइ छ । प्रधानमन्त्रीलाई २० सांसदले प्रश्न गरेका थिए ।
जसमा कांग्रेसका ईश्वरीदेवी न्यौपाने, दीपक गिरी, दिलेन्द्र प्रसाद बडू र रामहरि खतिवडाले प्रधानमन्त्रीलाई प्रश्न गरे यस्तै एमालेबाट विद्या भट्टराई, रघुजी पन्त र पदम गिरीले पनि प्रधानमन्त्रीलाई प्रश्न गरे ।
यसैगरी माओवादी केन्द्रबाट पूर्णबहादुर घर्ती, रास्वपाबाट शिशिर खनाल, राप्रपाबाट ज्ञानेन्द्र शाही, जसपाबाट दीपक कार्की र एकीकृत समाजवादीबाट शेरबहादुर कुँवरले प्रश्न गरे ।
यसैगरी जनमतबाट अमितादेवीले प्रश्न गरे भने नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरीले प्रश्न गरे । यस्तै लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट चित्रबहादुर केसी, आम जनता पार्टीबाट प्रभु शाह, स्वतन्त्रबाट अमरेश कुमार सिंह र योगेन्द्र मण्डलले प्रश्न गरे ।
००००
यसैबीच सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम शुक्रवार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
००००
काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।
रिजाललाई झापाबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । भुटानी शरणार्थी स्वदेश फिर्तिका लागि अभियान चलाइरहेका रिजाल नै नक्कली भुटानी शरणार्थीसम्बन्धी गम्भीर अपराधमा मुछिएका हुन् ।
यस्तै मियाँ सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ परेका थिए ।
उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । उक्त घटनामा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ ।
००००
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले भने, ‘शरणार्थी काण्डको छानबिन गर्न सजिलो होस् भनेर एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्वन गरेका छौँ, कांग्रेसले पनि पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई संरक्षण गरेर राख्नु हुँदैन, छानबिनका लागि प्रहरीलाई सजिलो बनाइदिनुपर्छ ।’
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलोग्राम सुन तस्करी भएको विषयको पोल क्लोज सर्किट टीभी (सीसीटीभी) फूटेजले खोलेको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार नायब सुब्बा रेबन्त खड्काले भन्सारको गोदामबाट नै सुन साटफेर गरेको देखिएको हो ।
‘नासु खड्काले सामान परिवर्तन गरेको सीसीटीभी फूटेजले देखाएको छ,’ प्रमुख भन्सार प्रशासक पोखरेलले भने ।
सीसीटीभी अनुसन्धान गर्दा नासु खड्काले लामो समय लगाएर भन्सारको गोदामभित्र सुन भरिएको भेपलाई साटेको देखिएको हो । प्रारम्भिक अनुसन्धानमा उनले झोला र आफ्नो खल्तीमा राखेर सामान साटफेर गरेको देखिएको छ ।
००००
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले माओवादी र जसपालाई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेका छन् ।
संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता थापाले केन्द्रमा १० दलीय गठबन्धनमा कायम रहेकाले प्रदेशमा पनि त्यसको मर्मअनुरूप अगाडि बढ्नुपर्ने बताए । माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता नगर्दा समस्या भएको भन्दै उनले समर्थन फिर्ता लिन आग्रह गरिएको जानकारी दिए ।
००००
वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झण्डै रु ७६ करोड ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागमा चालु आवको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ उजुरीमा रु ७५ करोड ७७ लाख ४१ हजार २१४ ठगी रकम दाबी गरिएको विभागले जनाएको छ ।
००००
शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेको छ । बिहीवार ३२ दशमलव ३० अङ्कले बढेर नेप्से एक हजार आठ सय ७७ दशमलव ३२ मा पुगेको एक्सचेञ्जले जनाएको छ ।
००००
नेपाल एयरलाइन्सले जेठ २९ गते देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियामा नियमित उडान सुरु गर्ने घोषणा गरेको छ । एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।
००००
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन् । बिहीवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार प्रकरणको बिरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।