१९ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

कस्तो आयो सरकारको नीति तथा कार्यक्रम ? भोलिदेखि संसदमा छलफल चलाइने

कस्तो आयो सरकारको नीति तथा कार्यक्रम ? भोलिदेखि संसदमा छलफल चलाइने

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनासहित उपस्थित भएका छौँ–
सरकारको नीति तथा कार्यक्रममाथि भोलि (आइतबार) देखि छलफल सुरु हुने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारदेखि जेठ ११ गतेसम्म छलफल चलाइने भएको हो । 

सभामुख देवराज घिमिरेका अनुसार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन दलीय प्रतिनिधित्वका आधारमा अग्रिम सूचना दिनुपर्नेछ । आइतबारको बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । 
००००
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिक्रिया दिएका हुन् ।

यस्तै एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेका समस्याको समाधान गर्ने ठोस उपाय र प्रस्तावहरू नरहेको बताए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले पनि सरकारको नीति कार्यक्रम कर्मकाण्डी भएको बताएका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रमलाई कायान्र्वयन गर्न चुनौती भएको बताएका छन् ।
००००
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको नीति तथा कार्यक्रम अनावश्यक डङ्गको लामो र पट्यारलाग्दो भएको प्रतिक्रिया दिएका छन् । अधिकांश पुरानै नीति र कार्यक्रमको कपि पेष्ट गरी शब्द र सन्दर्भ तलमाथि पारिएको भन्दै थापाले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने कार्यक्रमको पुलिन्दा भएको समेत टिप्पणी गरे ।
००००
सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजे पनि आर्थिक संकटलाई भने उचित सम्बोधन गर्न नसकेको प्रतिक्रिया आएको छ । सरकारी निकायको तथ्याङ्कलेनै अर्थतन्त्र संकटोन्मुख देखाएको र संकुचनमा गएको स्वीकार गरिसकेको अवस्थामा आव २०८०–८१ को नीति तथा कार्यक्रमले यसको उचित सम्बोधन गर्न नसकेको निजी क्षेत्रको विश्लेषण छ । 
०००००
अर्थमन्त्री डा प्रकाशशरण महतले भने मुलुकको आवश्यकता सम्बोधन हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् ।
००००
केही समय अघि मात्रै भारतमा उपचार गराएर स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार नभएको देखिएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि शीतल निवासदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म आउँदा, प्रस्तुत गर्दा र फर्किंदा राष्ट्रपतिले असहजता महसुस गरेको देखिएको छ ।

सरकारको २०८०–८१ को कार्यक्रम प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठकमा आउँदा पनि राष्ट्रपतिलाई सुरक्षाकर्मीले आड दिएका थिए । करिब दुई घण्टा लगाएर नीति कार्यक्रम पढ्दा पनि पौडेलले पटक–पटक असहजता महसुस गरेका थिए । लामा वाक्य पढ्ने क्रममा उनको स्वर पटक–पटक दबेको थियो ।
००००
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताए । यस्तै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।

विगत २९ वर्षदेखि चर्चामा रहेको यो विमानस्थल निर्माणको प्रक्रिया शुरु भए पनि वातावरणीय विषयलाई लिएर निर्माण प्रक्रियाले गति लिनसकेको छैन । सरकारले निजगढ विमानस्थललाई प्राथमिकतामा राखेको छ ।

करिब एक हजार नौ सय हेक्टर क्षेत्रफलमा विमानस्थल बनाउने योजना छ । कुल तीन हजार छ सय मिटर लामो र ६० मिटर फराकिलो धावनमार्ग हुने विमानस्थल निर्माणपछि वर्षमा छ करोड यात्रुको चाप थेग्ने अनुमान गरिएको छ । निजगढ विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित रु एक खर्ब २० अर्ब लाग्ने जनाइएको छ ।

प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माणकार्य अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । 
त्यसैगरी हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिनुका साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नति गर्ने जनाइएको छ । निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याइनेछ ।
००००
ढुङ्गा, वालुवा, गिट्टीजस्ता नदीजन्य वस्तु उत्खनन र निर्यातका लागि बाटो खोल्नुपर्ने भन्दै निजी क्षेत्रले लामो समयदेखि उठाइरहेको विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अटाएको छ ।
००००
सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्ने घोषणा गरेको छ ।
००००
सरकारले कीर्तिपुर र मूलपानी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रुपमा थप व्यवस्थित गर्ने घोषणा गरेको छ ।
००००
सरकारले ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमताको उपयोग गर्ने व्यवस्था गर्ने भएको  छ । नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति  पौडेलले ज्येष्ठ नागरिकले पाइरहेको सेवा सुविधाको छुट बढाउने घोषणा गरेका हुन् । 
००००
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । 

सो पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्दै पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन् । 

यसैबीच नाउपाले नै समय मागेपछि शुक्रबार हुने भनिएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । 
००००
पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउन निर्देशन दिएको छ । 

विकास केन्द्रले एक सूचना जारी गरेर पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरुपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन निर्देशन दिएको हो ।
००००
कानून, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्