
ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त खण्डमा पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेपछि काम पुनः सुरु भएको हो । कार्यालयले केही समय अगाडि कारबाहीस्वरुप स्पष्टीकरण सोधेको थियो । लगत्तै निर्माण कम्पनीले कामलाई अगाडि बढाएको छ । भानु नगरपालिका–१३ चन्द्रावती, पोखरीछाप, ठूल्ढुङ्गा दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको छ ।
पछिल्लो पटक थपिएको म्याद असार मसान्तसम्म रहेकामा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको जिल्ला समन्वय समितिका पूर्वसदस्य एवं स्थानीयवासी गलबहादुर गुरुङले जानकारी दिए ।
असार मसान्तभित्र उक्त खण्डको कामको प्रगति ४० प्रतिशत हुनसके निर्माण कम्पनीको म्याद थप्ने नभए ठेक्का सम्झौता तोड्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।