जनकपुर २१ भदौ– असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमा बुधवार उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन् ।
प्रदेश नम्बर २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ वटा स्थानीय तहमा आज उम्मेदवारी दर्ता सुरु भएको हो । निर्वाचन आयोगले शान्तिपूर्ण मनोनयन भइरहेको जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र तथा तराई केन्द्रित राष्ट्रिय जनता पार्टीले तामझामपूर्ण ढंगले उम्मेदवारी मनोनयन गर्न लागेका हुन् । मनोनयनको पूर्वसन्ध्यामा राजनीतिक दलका स्थानीय कार्यकर्ताले पार्टी फेरबदल गरेका छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्र तथा राजपाबीच कतिपय स्थानमा चुनावी तालमेल भएका छन् । माओवादी केन्द्रले संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमसंग चुनावी तालमेल गर्ने बताएको छ ।
यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु चुनिने छन् । यसका लागि दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी खटिने छन् ।