०६ असार २०८३, शनिबार
व्यवसाय

‘द कफी हब’मा सफलताको स्वाद

जेठ ६, २०८०
‘द कफी हब’मा सफलताको स्वाद

बुटवलका तिरास लामटांगे मगर १ दशकदेखि शिक्षण पेशामा छन् तर अहिले तिरासको जोडी कफी बिक्रीमा तल्लिन छ ।

लामटांगेले कफी पारखीका लागि ‘द कफी हब’ सञ्चालनमा ल्याएका छन् । रूपन्देहीको तिलोत्तमा योगिकुटीस्थित उनको ‘कर्फी हब’ अहिले सबैको रोजाइमा पर्न थालेको छ ।

अग्र्यानिक र नेपालमा उत्पादित कफीको स्वाद चखाउने तिरास र शर्मिला गलामीको जोडी सफल उद्यमी बन्ने दिशामा लम्केको छ । तिरासले गरेको कफीका पारखी युवापुस्ता लक्षित कफी स्वाद दिने व्यवसाय लामो समय निरन्तर हुने देखिन्छ ।

बुटवल र तिलोत्तमा नगरको संगम क्षेत्र योगिकुटी साँझ–बिहान घुमफिरका लागि चर्चामा छ । फराकिलो बाटोसहित बाक्लो चहलपहल हुने योगिकुटी दिन दुईगुना रात चौगुनाका दरले व्यस्त हुँदै गइरहेको छ ।

उद्यमी बनेका बुटवलमा स्थापित शिक्षक तिरास व्यापारमा थप सम्भावना खोज्दै अगाडि बढेका छन् । ‘केही वर्ष अगाडिसम्म कफी खाने मानिस खासै थिएनन्,’ उनी भन्छन्, ‘ग्राहक पनि थोरै थिए । अहिले ग्राहकसँगै विश्वास पनि बढेको छ । युवा पुस्तामा कफी ‘क्रेज’ बढेको छ ।’ शिक्षणको मोहभंग भएपछि उनलाई अहिले कफीले खुशी दिलाएको छ । 

चिया खाने आम नेपाली संस्कृति बिस्तारै कफीतर्फ मोडिँदैछ । शहरका ठाउँठाउँमा ‘कफी शप’ खुल्नेक्रम तीव्र देखिन्छ । दूध चिया पिउने युवाले अर्मिकाने र क्यापुचिनो कफीको चुस्की लिन थालेका छन् । बजारमा कफी संस्कृति आक्रामक ढंगले विकास भइरहेको छ । कफी व्यवसायमा नयाँ–नयाँ युवा अनुहार पनि उत्तिकै आइरहेका छन् ।

‘द कफी हब’का सञ्चालक तिरास भन्छन्, ‘कफी हबमा पसेर कफी पिउँदै बिजनेश प्लान हुन थालेका छन् ।  छलफल र ‘फरदर प्लानिङ’ गर्न लामो समय कफी पिउने युथ जेनेरेसन बढिरहेको छ ।’ 

पाल्पामा जन्मिए, हुर्किए पनि उनले उच्च शिक्षा काठमाडौंबाट पूरा गरे । होटल व्यवस्थापनमा स्नातक उनी प्रयोगात्मक अभ्यास गर्न छिमेकी मुलुक चीन पुगे । त्यहाँ अभ्यास पूरा गरेर उनले त्यहीँ १ वर्ष काम गरेर होटलको अनुभव थपे । त्यसपछि फर्किएर काठमाडौंका विभिन्न ‘स्टार’ होटलमा काम गरेर उनले आफूलाई अझै निखारे । त्यहीँ अनुभव र सोचबाट बुटवलमा सानो ‘कफी हब’ जन्मिएको तिरास बताउँछन् । 

उनको योजनालाई जीवन संगीनी शर्मिलाले दह्रो साथ दिएकी छन् । कफी हबमा अमेरिकानो, क्यापुचिनो, रिस्ट्रेटो एस्प्रेसो, डबल रिस्ट्रेटो एस्प्रेसो, टोपियो,  भेनिला क्याफेलाटे लगायत दर्जनौं प्रकारका कफीका स्वाद लिन पाइन्छ । 

बुटवल झरेर उनले शुरूमा होटल क्षेत्रमा हात हाले । बुटवलको सुख्खानगरमा एशियन भिलेज होटल सञ्चालनमा ल्याए । हतारमा सञ्चालनमा ल्याएर ६ महिनामा होटल बन्द गर्नुपर्ने नमिठो स्वाद उनले चाख्नुपर्ने भयो । त्यसपछि उनलाई बुटवलमा चक्रबहादुर श्रेष्ठले कलेज पढाउन सुझाव दिए । उनले बुटवलको एक कलेजमा होटल म्यानेजमेन्ट पढाउन शुरू गरे । अध्यापनकै सिलसिलामा अक्सफोर्ड कलेज पढाउने शर्मिलासँग उनको विवाह भयो । शर्मिला पनि कलेज नै पढाउँथिन् । 

null

‘विभिन्न आरोह–अवरोह सामना गर्दै अहिले कफी खुवाउन हामी आइपुगेका छौं । विश्वास छ, यो व्यवसायमा हामी लामो समयसम्म अघि जानेछौं । सोचेजस्तै अझै नभए पनि व्यवसायबाट सन्तुष्ट छु,’ तिरास भन्छन् । कफी पिउन र फोटो खिच्नका लागि कफीशपमा जाने संस्कृति बजारमा अहिले फेसन बनेको उनको भनाइ छ ।

‘आजकल ‘भेटौं कफी पिउँ’ प्रचलनमा रहेको छ,’ उनी भन्छन्, ‘कफीको यस्तै माग, आवश्यकता र महत्त्वलाई मध्यनजर गरी यसका पारखीलाई आनन्द दिलाउने कोसिसमा छु ।’

होटल तथा रेस्टुरेन्टमा रुचि राखेर अध्ययन, काम र अध्यापन गरेका तिरास आफैंलाई पनि कफी औंधी मन पर्छ । पछिल्लो समय कफी पिउने प्रचलन बढेको र त्यसलाई आफूले अझै विस्तार गर्ने बताए । ‘नेपालमा अहिले कफी पिउने चलन बसेको छ । यसैलाई मध्यनजर गर्दै थप विस्तार गरेर कफीलाई प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ,’ उनले भने ।

कफी र हस्पिटालिटी उनको सोख हो । उनले छिट्टै पाल्पा, भैरहवा लगायतका शहरमा शाखा सञ्चालन गर्ने सोच बनाएका छन् । 

बिजनेशमा रिस्क हुने बताउँदै उनले हार नमान्ने बताए । उनी ‘कि जितिन्छ कि सिकिन्छ’ भन्ने भनाइलाई आत्मसाथ गर्दै अगाडि बढेका छन् । घुम्ने र खानपिन गर्ने चलन बढेको छ । आकर्षक सजावट र व्यवस्थापनसहित उनले शुरू गरेको कफीमा धेरै सेल्फी जोन छन् । कफी, बेकरी र कन्फेक्सनरीका लागि परिवार नै सहभागी हुन मिल्ने उनी बताउँछन् ।

करीब ३६ लाख रुपैयाँको लगानी रहेको शान्तिचोकस्थित तिरासको ‘द कफी हब’मा कफी, बेकरी र कन्फेक्सनरीका विभिन्न परिकारहरूलाई पनि ग्राहकले उत्तिकै रुचाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्