
तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानको जग्गा अधिग्रहणको मुआब्जामा विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ ।
जग्गा अधिग्रहणका लागि विगत ३ वर्ष अगाडि नै मुआब्जा टुंगिसके पनि प्रभावितले मुआब्जा नपाएको विषयमा कार्यालयले चासो राखेको हो ।
उद्यानबाट प्रभावित स्थानीयलाई मुआब्जा वितरणका लागि ३ वर्षअघि मुआब्जा निर्धारण समितिले मुआब्जा निर्धारण गरिसकेको जनाइएको छ तर बजेट अभावमा प्रभावितले मुआब्जा पाउन नसकेपछि आगामी वर्षको बजेटमा यसलाई समावेश गरेर लैजाने विषयमा छलफल गरिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव ओमकुमारी पौडेलले जानकारी दिए ।
मुआब्जा वितरणका लागि आगामी वर्षको बजेटमा बजेट समावेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव नवराज ढुंगानाको संयोजनमा वन मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाल सहितको बैठक बसेको जनाइएको छ ।
स्वकीय उपसचिव पौडेलले भने, ‘प्रधानमन्त्रीज्यूले यो विषयमा पटक–पटक चासो राख्दै आउनुभएको छ । सोहीबमोजिम सरोकारवालाको बैठक राखेर यो विषयमा छलफल गरेका छौं । यो विषयमा राष्ट्रपतिज्यूसँग पनि भेटघाट गरेर जानकारी गराउने तयारी छ ।’
प्राणी उद्यानका लागि आवश्यक पर्ने जग्गा रोक्का हुँदा प्रभावितले बेचबिखन गर्न पाइरहेका छैनन् । एकै किस्तामा वितरण गर्न नसकिए २ किस्तामा मुआब्जा वितरण गर्ने विषयमा पनि छलफल भएको उपसचिव पौडेलले जानकारी दिए । रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्र्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको थियो ।
प्राणी उद्यानले व्यास नगरपालिका–११, १२, भानु नगरपालिका–५ र ६ का भाग समेटेको छ । प्राणी उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए । उनका अनुसार यस कार्यका लागि कूल ४६ करोड ५२ लाख १ हजार ७३० रुपैयाँ बजेट आवश्यक पर्छ ।
प्राणी उद्यानभित्र परेका १२६ जग्गाधनीको ९६१ रोपनी जग्गा अधिग्रहण गरिनेछ । यसका लागि ४३ करोड ८७ लाख ९ हजार ४४३ रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ । उद्यानभित्र परेका घरटहराका लागि ५८ लाख ७ हजार ५७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि २ करोड ६ लाख ८४ हजार ७०७ रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ ।