
खोटाङको दिक्तेलस्थित शुभद्रा मदन (शुभम) फाउण्डेशनमा भएको बाल यौन दुर्व्यवहारको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । आइतवार काठमाडौंमा स्थलगत अध्ययन समितिले प्रतिवेदन सार्वजनिक गरेको हो ।
सार्वजनिक अध्ययन प्रतिवेदनमा फाउण्डेसनका संस्थापक मदन राईले विद्यालयमा अध्ययनरत छात्राहरूलाई निर्वस्त्र भइ अश्लील शब्दहरू प्रयोग गर्ने, निर्वस्त्र भइ मसाज गर्न लगाउने, संवेदनशील अंगमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्ने गरेको पाइएको उल्लेख छ ।
विद्यालयको प्रार्थना समय वा अन्य कुनै समयमा पनि बालबालिकाको अगाडि निर्वस्त्र हुने, बालबालिकालाई लहरै राखेर यौनजन्य गतिविधि गर्ने/गर्न लगाउने गरेको पाइएको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सीजप) का अध्यक्ष राजेश शर्माले बताए ।
उनले शहरी शिक्षका लागि भन्दै ललितपुरस्थित आफ्नै घरमा लगेरसमेत राईले किशोरीहरूमाथि दुर्व्यवहार गर्ने गरेको र शारीरिक सम्पर्कपछि रजश्वला भए/नभएको बारेमा सोधपुछ गर्ने गरेको पाइएको बताए ।
अध्ययन समितिले विद्यालय हाताभित्रै होमस्टे, क्याफे सञ्चालन गरेको र उक्त क्याफेमा कमचारीको रूपमा बालबालिका र किशोरीलाई काम लगाउने गरेको पाइएको बताएको छ ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य राईले मदन राईलाई पक्राउ गरेपछि बालबालिकालाई त्यहाँका गतिविधि नभन्न दबाब र धम्की दिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
समितिले विद्यालयभित्र जोसुकैले प्रवेश गर्न पाउने भएकाले बालबालिकाहरू थप जोखिममा रहेको निष्कर्ष निकालेको छ ।
अध्ययन समितिले पीडित बालबालिकाको तत्काल उद्धार गर्न, आवास गृहमा भएका कानून विपरीतका कार्यलाई अनुसन्धानको दायरामा ल्याउन, विद्यालयमा बाल संरक्षण संयन्त्र निर्माण गर्न आवश्यक रहेको औंल्याएको छ ।
राईले सञ्चालन गरेको विद्यालयमा अहिले पनि १०१ जना बालबालिका रहेको र प्रहरीले मदन राईलाई पक्राउगरी अनुसन्धान गरिरहेको छ ।