विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागे/नलागेको पूर्णरूपमा सुनिश्चित गरिन्छ । तर, दक्षिण कोरियामा आज विमानको ढोका खुल्लै राखेर एउटा विमान अवतरण गरिएको छ ।
देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरणअगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ ।
संयोगले भवितव्यबाट जोगिए पनि केही यात्रीलाई श्वासप्रश्वासमा कठिनाइ भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । ढोका खुला राखेरै विमान अवतरण गरिएको घटनाको छानबिन भइरहेको छ ।
डेगु विमानस्थल राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ ।