काठमाडौं, २२ भदौ- सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ । बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा हुने गरेको छ ।

तस्करीको सुनको गुणस्तर राम्रो भएपछि व्यापारीले बैंकसँग सुन किन्न मन नपराउने नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन् । उनले भने, ‘भन्सार नतिरेका कारण तस्करी भएर आएको सुन सस्तो पनि भयो । त्यसमाथि शुद्धता बढी भएका कारण नाफा पनि बढी भयो ।' अर्कोतर्फ गत जेठदेखि राष्ट्र बैंकले सानो परिमाणमा सुन किन्न पाउने व्यवस्था नगर्दासम्म व्यापारीले एक किलोभन्दा कम तौलको सुन किन्न पाउँदैनथ्ये । यसको फाइदासमेत तस्करले उठाउँदै आएका थिए । अहिले बैंकिङ च्यानलबाटै सय ग्रामसम्म सुन किन्न पाइन्छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
बैंकिङ च्यानलबाट आएको सुनको गुणस्तरका विषयमा व्यापारीले प्रश्न उठाएपछि तत्कालीन वाणिज्य मन्त्रालयले बैंक तथा व्यापारीबीच छलफल सुरु गरेको थियो । सुनको गुणस्तर कायम गर्नेसम्बन्धी निर्देशिका ल्याउनसमेत मन्त्रालयले पहल गरेको थियो । तत्कालीन वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय ९९९९ अंकित सुन मात्र ल्याउन सहमति भएको बताउँछन् ।