
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलसँग छलफल गरेका छन् । प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री प्रचण्डसहित सत्तापक्षका नेता र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार सदनको गतिरोध हटाउने विषयमा छलफल भएको छ । शुक्रवारको बैठकमा पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेले बैठक अवरुद्ध गरेको थियो ।
छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् ।
माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे छलफलमा सहभागी छन् ।
प्रतिनिधि सभा बैठक आज साँझ ४ बजे बस्दै छ ।