
प्रेस सेन्टर नेपालको १९औ वार्षिक साधारण सभा तथा कृष्णसेन इच्छुक स्मृति दिवस काठमाडौंमा शुरू भएको छ । शनिवारदेखि काठमाडौंको शंखरापुर नगरपालिकामा शुरू भएको वार्षिक साधारण सभा तथा स्मृति दिवस आइतवारसम्म चल्ने छ ।
साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । साधारण सभा तथा स्मृति दिवसमा प्रेस सेन्टर नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्य, सात वटै प्रदेश समिति तथा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट प्रदेशका अध्यक्ष, ७७ वटै जिल्ला समन्वय समितिका अध्यक्षको सहभागिता रहेको संगठनका उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।
उदघाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै पूर्व सभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा, पार्टीका स्थायी समिति सदस्य एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहाल, प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार एवम प्रेस सेन्टर नेपालका सल्लाहकार गोविन्द आचार्यको सहभागिता रहेको छ ।
साधारण सभा तथा स्मृति दिवसको अवसरमा शंखरापुरमा बिहान साढे ७ बजे प्रभातफेरी गरिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेको साधारण सभा एवम स्मृति दिवसको बन्दशत्र शनिवार दिउसोबाट शुरू हुनेछ ।