३१ जेठ २०८३, आइतबार
हट्यो संसद्‍को गतिरोध

जलहरी प्रकरण : सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने तीन दलबीच सहमति

विवादका विषयमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने
जलहरी प्रकरण : सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने तीन दलबीच सहमति

प्रतिनिधि सभामा उठेको पशुपतिनाथको जलहरीका विवादमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । शनिवार सिंहदरबारमा भएको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका नेताहरूसँगको  छलफलमा प्रधानमन्त्री प्रचण्डले जलहरी विवादका विषयमा संसद्‍मा सम्बोधन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । 

उनका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली नजोडिने बताएका थिए । 

‘सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुनेगरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएको हो,' गिरीले भने,  यसलाई गलत भनेरै जानुपर्छ भन्ने अण्डरस्ट्याण्डिङ बनेको छ । उहाँ (प्रधानमन्त्री)ले यसबारे संसद्मा सम्बोधन गर्नुहुनेछ ।' 

साथै माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको गिरीले जानकारी दिए । आगामी दिनमा पनि यस्ता तथ्यहीन आरोपहरू संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरूरुलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताए ।

यससँगै सदनको अवरोध हट्ने भएको छ । तीन दलबीच सहमति भएसँगै एमालेले संसद्मा अवरोध नगर्ने बताएको छ ।

प्रतिनिधि सभा बैठक आज साँझ ४ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । 

शुक्रवारको बैठकमा पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेले बैठक अवरुद्ध गरेको थियो । 

यसअघि गत बुधवारको बैठकमा बोल्ने क्रममा माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा सुन भनेर पित्तलको जलहरी राखेको आरोप लगाएका थिए ।

तीन दलको बैठकमा प्रधानमन्त्रीप्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक, एमाले अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी,  माओवादी वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्