काठमाडौँ, २२ भदौ- बुधबार दिउँसो करिब १ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चार टोली अनुगमनका लागि तयार भए । त्यसमध्ये श्रीराम अधिकारीले नेतृत्व गरेको टोली दरबारमार्ग लाग्यो । सँगै मोहन पुडासैनी संलग्न रहेको टोली पनि क्रियाशील भयो । सुरुमा विभागको अनुगमन निरीक्षक मोहन पुडासैनी संलग्न रहेको टोली रिबुक ब्रान्डको सामान बिक्री गर्ने लेबल्स स्टोरतिर लाग्यो ।

नयाँ पत्रिका दैनिक लेख्छ- १ हजार ७ सय ५४ रुपैयाँमा खरिद गरेको टिसर्ट ३ हजार ७ सय ९० रुपैयाँ बिक्री मूल्य राखिएको थियो । त्यसमा ३० प्रतिशत छुट राखेर २ हजार ६ सय ५० रुपैयाँ बिक्री मूल्य तय गरिएको थियो । त्यस्तै, १ हजार ६ सय ४० रुपैयाँ खरिद मूल्य रहेको रिबुकको क्रस फिट जुत्ताको बिक्री मूल्य ७ हजार ६ सय १५ राखेको पाइयो । दुईवटा सामानको खरिद र बिक्री मूल्य हेर्दा अत्यधिक अन्तर देखिएपछि टोलीले उक्त पसलमा सिल लगायो ।
त्यसपछि बोसिनी ब्रान्डको सामान बिक्री गर्ने लाइन्स स्टाइल इन्टरप्राइजेजमा अनुगमन सुरु भयो । त्यहाँ ९ सय २५ रुपैयाँ खरिद मूल्य रहेको टिसर्टलाई १ हजार ८ सय ९९ रुपैयाँ बिक्री मूल्य राखेको भेटियो । त्यस्तै, १ हजार ६ सय ४५ रुपैयाँ खरिद मूल्य रहेको सर्टलाई ३ हजार ६ सय ९९ रुपैयाँ बिक्री मूल्य राखिएको भेटियो । दोस्रो पसलमा पनि खरिद र बिक्री मूल्य बढी भेटिएपछि टोलीले सिल गर्यो ।
तेस्रो नम्बरमा लिभाइज ब्रान्डको सामान बिक्री गर्ने लेबल्स स्टोरको अर्को पसलमा अनुगमन भयो । त्यहाँ अनुगमन सुरु हुँदै गर्दा पसलअगाडि ३–४ जना व्यवसायी मलीन अनुहारमा छलफल गरिरहेका थिए । उक्त पसलमा ५ हजार २५ मा खरिद गरेको पाइन्टमा ९ हजार ७ सय ९० बिक्री मूल्य राखेको भेटियो । अर्को पाइन्ट ३ हजार ५ सय ७० मा खरिद गरी ७ हजार ६ सय ९९ रुपैयाँ बिक्री मूल्य राखेको भेटियो । त्यसपछि विभागका निरीक्षकहरूले खरिद र बिक्री मूल्यमा ठूलो अन्तर आएको भेटिएपछि सिल लगाउने तयारी गरे । त्यसपछि पसलअगाडि १०–१२ व्यापारी जम्मा भए ।
अनुगमन टोली बाहिर आएर सटर लगाई सिल लगाउने तयारी गरिरहेको थियो । ‘अनुगमनमा प्राप्त कैफियतका आधारमा सिल गर्न खोज्दा अगाडि बसेका व्यवसायीले कुनै प्रतिक्रिया जनाएनन्, हामीले आफ्नो काम सुरुसुरु गर्यौँ । तर, पसल सिल गरेर जब अनुगमन टोली अर्को पसको अनुगमन गर्ने तयारी गर्दै थियो, एकपछि अर्को गर्र्दै सो क्षेत्रका पसलका सटर लाग्न थाले । व्यवसायी आफैँले पो सटर बन्द गर्न थालेको देखियो,’ पुडासैनीले भने । दरबारमार्गका व्यवसायीको संघ छ । सोही संघको निर्देशनमा टोलीलाई पसल अनुगमन गर्न दिनुको सट्टा सटर बन्द गराइएको थियो ।
अनुगमन निरीक्षक श्रीराम अधिकारीले करिब चार बज्न लागेपछि धमाधम सटर बन्द हुने क्रम बढेपछि अनुगमन रोकिएको जानकारी दिए ।