
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीभित्र गुटबन्दी कुनै पनि अवस्थामा स्वीकार्य नहुने दाबी गरेका छन् । प्रेस सेन्टर नेपालको १९औं साधारण सभा र २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा कुनै गुटबन्दी हुन नहुने बताएका हुन् ।
नेता-कार्यकर्ता जनतामा नजाँदा पार्टी केही बिग्रिएको उनले बताए । 'पार्टी केही बिग्रिएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । बिग्रिनुको प्रमुख कारण भनेको नेता-कार्यकर्ता जनतामा नजानु नै हो,' उनले भने, 'दोस्रो कारण पार्टीमा गुटबन्दी छ । गुटबन्दीलाई मान्यता दिइँदैन ।'
उपाध्यक्ष महराले पार्टीलाई राम्रो बनाउन प्रधानमन्त्री एवम पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीकै नेता कार्यकर्ताले घेराबन्दी गर्नुपर्ने बताए ।
माओवादी नेतृत्वको सरकारविरुद्ध वैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको उनको दाबी छ ।