
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका देखिएका समस्या र चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।
नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै संसद्मा प्रचण्डले चुनौतीलाई चिर्न प्रमुख दलबीच मिलेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
‘अहिले देशका अगाडि जे जस्ता समस्या र चुनौती छन् । त्यसकाे समाधानका लागि राष्ट्रिय सहमति आवश्यक छ । सुशासनसँग सम्बन्धित, भ्रष्टाचार र बेथितिलाई मिलेर मात्रै जित्न सक्छौं । एक्लै जित्न सक्दैनौं’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणले देश र विश्व तरंगित भएको छ । यो पहिलेदेखि चल्दै आएको विषय रहेछ । यो सरकारको पालामा मात्रै शुरु भएको होइन । हिड्दै जाँदा देखा परेको हो । यसमा दुधको दुध पानीको पानी बनाउनुपर्छ ।’
सरकार यो मुद्दामा मात्रै केन्द्रित नभएको भन्दै उनले सम्पत्ति शुद्धीकरण, राजस्व चुहावटसहित सबै बेथितिमाथि सरकारले ध्यान दिने उनले बताए । यसका निम्ति सबै दल र सदनको सहयोगको आवश्यकता भएको उनको भनाइ छ ।
एक ठाउँमा उभिन जरुरी भएकोले केही तितामिठा विषयलाई अन्त्य गर्नुपर्ने उनले बताए । ‘गठबन्धनले गर्दा केही मनोभावना र मनोविज्ञान हुन सक्छन् । तर यो भन्दा ठूलो कुरा राष्ट्र हो । जनताको आधारभूत कुराको निम्ति काम गर्नु ठूलो हो’ प्रचण्डले भने, ‘संसदका गतिविधिलाई सहज बनाउन, परम्परागत विषय र प्रक्रियालाई हामी तोडदियौं । समिति, संक्रमणकालीन न्यायसम्बन्धीमा साझा समझदारी बनायौं । मैले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग र समझदारी गर्न गर्नुपर्ने त्याग र लचकता देखाएको छु भन्ने लाग्छ ।’
आफैंलाई करेक्सन नगरी जनतामा आएको आवेग र असन्तोषलाई सामान्य पार्न नसकिने पनि प्रचण्डले बताए । प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई चुनौती र अवसरको रुपमा लिएको पनि उनले बताए ।
पछिल्लो समय सामाजिक सञ्जालका नाममा अराजकता बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले गम्भीर बन्नुपर्ने बताएका छन् ।