२४ जेठ २०८३, आइतबार
सरसर्ती २४ घण्टा

रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
टिकापुर घटनाका दोषी रेशम चौधरी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । 
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीलाई उच्च अदालतको फैसलाअनुसार सर्वोच्च अदालतले जन्मकैदको सजाय सदर गरेको थियो । 

तर, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार मात्रै राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय गरेका थिए । 
००००
गणतन्त्र दिवसका अवसरमा आइतबार राष्ट्रपति पौडेलले रेशम चौधरी, टोपबहादुर बुढासमेत १९ जनालाई आममाफी दिएका थिए ।
००००
यसैबीच रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा रिट बोकेर सर्वोच्च अदालत पुगेकी हुन् । बोहराले रिट सर्वोच्च अदालतमा पेश गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जानकारी दिइन् । आइतबार समयाभावले सो दर्ता हुन नसकेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । सोमबार सार्वजनिक बिदा भएकाले अब मंगलबारमात्रै दर्ता हुने बताइएको छ । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उनले आफ्नो आसन्न भारत भ्रमणलाई फलदायी बनाउने सन्दर्भमा सुझाव लिएका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला तल्लो अरुण जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता हुने भएको छ । प्रचण्डको भारत भ्रमणअघि आइतवार बसेको लगानी बोर्डको बैठकले उक्त जलविद्युत आयोजनाको पीडीए मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्ड बुधवार भारत भ्रमणमा जाँदै छन् ।
००००
चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा देशैभर जम्मा १०४ किलोमिटर मात्रै निर्माण भएको छ । 
सरकारले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षणअनुसार ८ महिना (साउन–फागुन)सम्म एक सय किलोमिटर मात्रै नयाँ सडक बनेको तथ्य सार्वजनिक भएको हो ।
००००
सरकारी स्वामित्वमा रहेका विभिन्न ४४ वटा सार्वजनिक संस्थानमध्ये नेपाल विद्यत् प्राधिकरणले सबैभन्दा बढी नाफा कमाएको छ । प्राधिकरणको गत आर्थिक वर्ष २०७८–७९ सम्मको सञ्चित नाफा २४ अर्ब रुपैयाँ छ । संस्थाले गत आवमा ३१ प्रतिशत नाफा कमाएको थियो ।
प्राधिकरणले गत आर्थिक वर्ष २०७८–७९ को एक वर्षमै १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । यो संस्थाले पछिल्लो ५ वर्षमा लगातार नाफा कमाउँदै गएको छ ।
००००
शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । 
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा पुगेको छ ।
००००
सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङ निवासी अनिता ढुङ्गानालाई नियुक्त गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुङ्गानालाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।
००००
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन् ।
 उनी अध्यक्षका अर्का प्रत्यासी चेतनाथ पाण्डेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनलाई महामन्त्री गगन थापासहित संस्थापन इतर समूहका इन्जिनियरहरुको समर्थन रहेको थियो ।
००००
सिंहदरबारमा धर्ना बसेका १७ जना अधिकारकर्मी पक्राउ परेका छन् । मानव अधिकार तथा शान्ति समाजले १६औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा आयोजना गरेको धर्नाबाट कृष्ण पहाडीसहितका १७ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
००००
संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएको छ।
समितिमा प्रतिनिधित्वका लागि प्रतिनिधिसभाबाट सांसदहरू मनोनीत भएसँगै समितिले पूर्णता पाएको हो ।
००००
कोशी प्रदेशको नामकरण विषयमा असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच आइतबार झडप भएको छ । विराटनगरस्थित देवकोटा चोकमा आइतवार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । 
आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडपको स्थिति बनेको प्रहरीले जनाएको छ । प्रदर्शनका कारण दिनभर विराटनगर तनावग्रस्त बन्यो । 
००००
एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा घरेलु टिम नेपाल तेस्रो बनेको छ। उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै नेपालले तेस्रो स्थान हात पारेको छ । नेपालले उज्वेकिस्तानलाई २५–२०, १६–२५, १५–२५ र १३–२५ को सेटमा पराजित गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्