०५ साउन २०८३, मंगलबार

१३२ केभी प्रसारण लाइनको तार फेर्न अवरोध

१३२ केभी प्रसारण लाइनको तार फेर्न अवरोध

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । 

करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नु पर्नेलगायत माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गरेका हुन् । स्थानीयको अवरोधका कारण गत वैशाखको पहिलो हप्ताबाट काम ठप्प छ । 

नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमतावृद्धि गर्न हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमता (High Temperature Low Sag-HTLS )को नयाँ तार राख्न लागेको हो । 

अहिले उक्त प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुँदै आएकोमा कन्डक्टर बदलेपछि क्षमता वृद्धि भई करिब ४ सय  मेगावाट प्रवाह हुन्छ । 

यसबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत् गरी बढी भएको विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत् भारततर्फ निर्यात गर्न सकिन्छ । 

हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित सबस्टेसनबाट कमानेसम्मको ९.५७ किलोमिटर प्रसारण लाइनमध्ये एउटा सर्किटको ७.५ किलोमिटर तार फेरिएको छ । हेटौंडा–कमाने खण्डमा तार बदल्न क्रममा टावरमा जोडिएको पुरानो काटेर अस्थायी रुपमा बाँधी राखिएको छ । 

स्थानीयको अवरोधले बाँकी काम रोकिएको छ । एउटाको  काम सकिएपछि अर्को सर्किटको काम शुरू हुने छ । तराई क्षेत्रमा विद्युत्को माग बढेको तर कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङलगायतका समस्या आई विद्युत् मागलाई व्यवस्थापन गर्ने असहज भएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले निर्माणस्थलमा गएर स्थानीय बासिन्दासँग छलफलगरी पूर्व–पश्चिम विद्युत् प्रवाहका लागि मेरुदण्डको रूपमा रहेको लाइनको कामलाई अवरोध नगरदिन आग्रह गरेको छ । 

छलफलमा वडा नम्बर १५ का अध्यक्ष सुनिल मोक्तानले करिब ४१ वर्षअघि लाइन निर्माण गर्दा मुआब्जा तथा क्षतिपूर्ति नपाएको, लाइनका कारण घर निर्माण गर्न नसकिएकोलगायतका माग स्थानीयको रहेको बताए । ‘राज्यका निकायले कानूनभन्दा बाहिर गएर निर्णय गर्न सक्दैनन्, यस्तो बाध्यता सबैले बुझ्नुपर्छ, स्थानीयले उठाएका जायज मागलाई प्राधिकरण व्यवस्थापनले फिल्डमै आएर सम्बोधन गर्ने विश्वास दिलाएको छ, यसलाई अविश्वास गरी काम नै गर्न नदिने भन्ने हुँदैन, त्यसैले अवरोध नगरी काममा सहयोग गरौं’, वडाध्यक्ष मोक्तानले स्थानीयलाई आग्रह गरे । 

स्थानीयले राखेका जायज मागलाई क्रमशः सम्बोधन गर्दै जाने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले करिब ४१ वर्षअघि बनेको लाइन अहिले आएर सार्न असम्भव रहेको बताए । ‘प्रसारण लाइन निर्माणमा देशभर नै समस्या छ, निर्माणाधीन लाइनको रुट सार्न त सकिंदैन भने बनिसकेको लाइन सार्न सम्भव नै छैन,’ घिसिङले भने, ‘यो लाइनको स्तरोन्नति सकिएन भने मर्स्याङदी नदी करिडोरका आयोजनाहरूको विद्युत प्रवाह गर्न नसकेर खेर फाल्नु पर्ने अवस्था छ, यस्तो अवस्था आए दैनिक राज्यलाई करौडौं घाटा हुन्छ, त्यसले यस्तो महत्वपूर्ण लाइनको काम रोकेर सबै माग पूरा हुन्छ भन्ने नसौचौं, काममा अवरोध नगरौं ।’ 

प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको कित्ताकाट गर्न दिने, बैंकमा धितो राख्न पाउनेलगायत विषयलाई नीतिगत रूपमा सम्बोधन गर्न माथिल्लो तहमा छलफल भइरहेको र स्थानीय रूपका सामाजिक मागलाई सम्बोधन गर्दै जाने उनले विश्वास दिलाए ।  

१३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौत ४ साउन २०७९मा कार्यान्वयनमा आएको थियो । उक्त कार्य २०८१ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्