३० जेठ २०८३, शनिबार

१ वर्षमा ९०० मेघावाट विद्युत् उत्पादन गरिने

१ वर्षमा ९०० मेघावाट विद्युत् उत्पादन गरिने
प्रतिकात्मक तस्वीर

आगामी २ वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । 

उनले १ वर्षभित्र ९०० मेघावाट विद्युत् राष्ट्रिय प्रसारणमा थप गरिने उनले बताएका छन् ।

आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रतिव्यक्ति विद्युत् खपत वृद्धि गरी ४५० किलोवाट घण्टा पुर्‍याइने उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणबाट प्रवर्द्धित १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धित जलविद्युत् र सोलार आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्षमा करीब ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गरिने उनले बताए । 

आगामी आर्थिक वर्षको अन्त्यसम्म कूल विद्युत् उत्पादन ३ हजार ६०० मेगावाट पुग्ने भएको छ । 

रणनीतिक महत्त्व रहेको पश्चिम सेती जलविद्युत् परियोजना, सेती रिभर ६, तल्लो अरुण लगायतका जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइने उनले बताए ।

सुक्खायामको विद्युत् माग सम्बोधन गर्न र जलविद्युत् निर्यात गर्न १ हजार २०० मेगावाट क्षमताको बुढीगण्डकी र ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी तय गरी निर्माण कार्य अघि बढाइने उनले बताए । 

संघ, प्रदेश र स्थानीय तहको सहलगानीमा १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण, २१० मेगावाट क्षमताको चैनपुर सेती, १०६ मेगावाट क्षमताको जगदुल्ला, ९९.९ मेगावाट क्षमताको तामाकोशी पाँचौं, ७०.३ मेगावाट क्षमताको सिम्बुआ खोला तथा ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाहरूको निर्माण शुरू गरिने उनले बताए ।

गत वर्ष सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो । यस वर्ष ८७ अर्ब ४५ करोड रुपैयाँ छुट्याएको छ । यो वर्ष १२ अर्ब ३५ करोड रुपैयाँ ऊर्जा क्षेत्रको विकासका लागि बजेट वृद्धि गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्