०१ असार २०८३, सोमबार

पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध, यात्रु पाँच घण्टा पैदल हिँड्न बाध्य

कात्तिक २०, २०७४
पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध, यात्रु  पाँच घण्टा पैदल हिँड्न बाध्य
जाजरकोट, २२ भदौ -यहाँको भेरी नगरपालिका–३ न्युरोडमा पहिरो जाँदा १२ दिनदेखि यातायात अवरुद्ध छ । 

पहिरोले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड भत्किएको छ । यातायात अवरुद्ध हुँदा यात्रु खलंगादेखि रिम्नासम्म चार पाँच घण्टा पैदल हिँड्न बाध्य छन् । 

दैनिक उपभोग्य वस्तु ओसारपसारमा पनि समस्या छ । पहिरोले पैदल यात्रीलाई आउजाउमा समेत जोखिम भएको छ । केन्द्रीय विद्युत् लाइन प्रसारणमा बाधा पुगेको छ । भत्किएको सडक पुनःनिर्माणका लागि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो स्थानीयवासीको छ । 

“पहिरो रोकथाम तथा सडक सञ्चालन गर्न कुनै पनि निकायले पहल गरेका छैनन्” स्थानीयवासी गणेश थापाले भन्नुभयो । यात्रुलाई पैदल आवतजावतमा कठिनाइ भएको छ । बस्ती नै जोखिममा परेको छ । खलंगा–रिम्ना सडकको स्तरोन्नतिमा गुणस्तरीय काम नहुँदा पहिरो खसेको उहाँले बताउनुभयो । 

सडकमा ढल निकासको व्यवस्था नहुँदा बस्ती नै बग्ने गरी पहिरो गएको छ । रोजेन्द्र र जलजला जेभी काठमाडौँले न्युरोड क्षेत्रमा पर्खाल तथा ग्याबिनको काम गरेको थियो । सडक डिभिजन कार्यालय चौरजहारीले गुणस्तरमा बेवास्ता गर्दा पहिरोले क्षति व्यहोर्नुपरेको थापाले बताउनुभयो । 

निर्माण व्यवसायीले पाँच महिनाअघि न्युरोडमा मनोमानी डिजाइन विपरीत पर्खाल तथा ग्याबिङ कार्य गरेका थिए । सडक स्तरोन्नति कार्य गुणस्तरीय नभएको भन्दै स्थानीयवासीले गत वैशाखमा विरोधसमेत गरेका थिए । 

पटक–पटक जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवालाको ध्यानाकर्षण गराए पनि बेवास्ता भएको सरोकार समितिका अध्यक्ष अमरसिंह राठौरले बताउनुभयो । “सडकमा ढल निकासको व्यवस्था नगर्दा पनि पहिरो खसेको हो”, उहाँले भन्नुभयो । खलंगा–रिम्ना सडक स्तरोन्नति कार्य रु १२ करोड लागतमा रोजेन्द्र र जलजला जेभी काठमाडौँले जिम्मा लिएको थियो । रासस 
 

salt training

कमेन्ट गर्नुहोस्