
विराटनगरका उद्योगी–व्यापारीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटले आर्थिक क्षेत्र चलायमान हुने बताएका छन् ।
सरकारले ल्याएको बजेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उद्योगी–व्यापारीले सरकारले ल्याएको बजेट कार्यान्वनमा आउन सके आर्थिक गतिविधि चलायमान हुने बताएका छन् ।
पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाउनु, सन् २०२३–३३ लाई पर्यटन दशक घोषणा गर्नु, आगामी आर्थिक वर्षलाई युवा उद्यमशीलता वर्षको रूपमा मनाउनु, स्टार्टअप व्यवसायको प्रवद्र्धन गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय रूपमा स्तरोन्नति गर्ने, विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने, नयाँ कम्पनी दर्तामा कुनै शुल्क नलिने, विराटनगर भन्सारमा पार्किङ र गोदाम घर निर्माण आदिमा बजेट विनियोजन हुनु सकारात्मक भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रतिक्रिया छ । ढुंगा, गिट्टी निर्यात गर्न दिने नीति सकारात्मक नदेखिएको उनको भनाइ छ ।
स्वदेशी उद्योगका उत्पादनको प्रवद्र्धन गर्न विराटनगरमा प्रदर्शनीस्थल स्थापनाबारे उद्योगी व्यवसायीले माग गर्दै आए पनि बजेटमा नसमेटिनु दुःखद भएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरनाले प्रतिक्रिया दिए ।
बजेटको अर्को राम्रो पक्ष भनेको हाइड्रोपावर रहेको उनले बताए । करको दायराको विषयमा अहिले केही भन्न सक्ने अवस्था नरहेको सुरानाले बताए ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले सरकारले लिएका केही नीतिका कारण अर्थतन्त्र चलायमान बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए । ‘बजेटको कार्यान्वयन प्रमुख विषय भएकाले कार्यान्वनको समयमा सरकारले कस्तो भूमिका खेल्छ ?’ उनले भने, ‘अहिले आएको बजेटमा आयात खुलाको नीति राम्रो छ । जग्गाको कित्ताकाट खोल्नुले पनि अर्थतन्त्र चलायमान हुन्छ ।’
उद्योगी महेश जाजूले कर्णप्रिय बजेट आए पनि आफूहरूको चासो कार्यान्वयनतर्फ नै रहेको प्रतिक्रिया दिए । आर्थिक मन्दीको कुरालाई सम्बोधन गर्ने बजेट आएकाले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत पुग्ने उनले बताए ।
उद्योगी अनिल शारडाले सरकारले धेरै खर्च नगर्ने प्रतिबद्धता जनाएकाले सरकारको पुँजीगत खर्च गर्ने क्षमता झन् कमजोर हुनसक्ने बताए ।