
अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरूलाई व्यक्तिगत पैसा दिएजस्तो विश्लेषण गर्न नमिल्ने बताएका छन् ।
आर्थिक वर्षको २०८०/०८१ को बजेटका सम्बन्धमा मंगलवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार समम्मेलनमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सांसद विकास कोष ब्युँताएर सरकारले व्यक्तिगत रूपमा सांसदहरूलाई पैसा बाँड्न लागेकोजस्तो प्रचार भइरहेकोमा असन्तुष्टि जनाए ।
सांसद विकास कोषको ५ करोड बजेट सांसदहरूले नभएर सम्बन्धित निकायले कार्यान्वयन गर्ने उनले स्पष्ट पारे ।
विगतजस्तो उपभोक्ता समिति बनाएर आयोजना बनाउने नभई ठेक्का प्रक्रियामार्फत् आयोजनाको काम हुने उनको भनाइ छ । कोषमा सांसदहरूको भूमिका पैसा खर्च गर्ने नभई आफ्नो निर्वाचन क्षेत्रको आयोजनाहरूको सिफारिस र आयोजना कार्यान्वयन भए/नभएको अनुगमनमा हुने बताए ।
सरकारले जनताको चाहना र आवश्यकताअनुसार १ करोड माथिका आयोजनामा खर्च गर्नेगरी सांसद विकास कार्यक्रमलाई अगाडि बढाएको बताए ।
१६५ क्षेत्रमा आवश्यकताअनुसार विकास निर्माणको काम गर्न सांसद विकास कार्यक्रम ल्याएको उनले बताए । ‘१६५ निर्वाचन क्षेत्रमा नै केही न केही योजना जाओस् भन्ने लक्ष्यका साथ संसदीय विकास कार्यक्रम राखिएको हो । यसमा सांसदहरूको भूमिका सिफारिस मात्रै हुन्छ । सांसदहरू जनताबाट निर्वाचित भएर आएका हुन्,' उनले भने, '५ करोड बजेटमा एक करोडभन्दा कम्तिको आयोजना हुन हुँदैन । यस्ता आयोजनाहरू स्वत: प्रक्रियाबाट जान्छ । ठेक्का सम्बन्धित मन्त्रालयले लगाउँछ । पहिलाजस्तो आफैँ उपभोक्ता समिति बनाएर बजेट बाँड्ने होइन । यसलाई व्यक्तिगत पैसा दिएजस्तो विश्वलेषण नगर्न अनुरोध गर्दछु ।’
अर्थमन्त्री महतले विद्युतीय सवारीलाई सरकारले निरुत्साहित गर्न खोज्यो भन्नु गलत भएको बताए ।