
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवालाले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनसँगै राखेर पेश गर्न आदेश गरेको छ।
जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासले मुद्दामा जाहेरवालाले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनसँगै राखेर पेश गर्न आदेश गरेको हो ।
क्रिकेटर लामिछानेका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार जाहेरवालाको निवेदन पनि सँगै राखेर पेश गर्ने आदेश गरिएको हो।
‘आजै उहाँले फैसला गर्ने मनस्थिति देखाउनु भएन । हामीले सन्दीपलाई जिम्बाबे जानु आवश्यक छ भनेर बहस गर्दा पनि श्रीमान्ले फैसला गर्न चाहनु भएन,’ घिमिरेले लोकान्तर भने, ‘विश्वकप गोल्बल छनोटको लागि नेपाली टोलीमासमेत परिसकेका सन्दीपको विषयमा फैसला गर्न आवश्यक छ भनेर बहस गरेका थियौं, तर श्रीमान्ले जाहेरवालाको निवेदन पनि सँगै राखेर पेश गर्न भन्नु भएको थियो ।’
यद्यपि लिखित आदेश नआए पनि त्यही आशय श्रीमान्ले व्यक्त गरेको उनले बताए ।
लामिछानेविरुद्धको मुद्दामा अब अर्को साता पेशी तोकिने छ । योसँगै सन्दीप जिम्बाबे जानबाट बन्चित हुने उनले बताए ।
नाबालिक बलात्कारको मुद्दामा २० लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछानेको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ ।