
सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाकाको विकल्पमा अर्को नाकाबारे भारत सरकारसँग छलफल गर्ने बताएका हुन् ।
उनले नेपालगञ्ज(रुपैसडया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी) लगायतका अन्य नाकाहरू पनि चलायमान बनाउनेबारे छलफल भइरहेको बताए ।
नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्न पक्की पुल निर्माणको कामबारे पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने उनको भनाइ छ ।
नेपाल र भारत सरकारबीच विभिन्न कालखण्डदेखि थाँती रहेका सीमादेखि अन्य मुद्दाहरूमा छलफल हुने उनले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधवारवाट तीन दिने भ्रमणमा भारत जान लागेका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग दिव्पक्षिय वार्ता गर्ने छन् ।