
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकीर गरेका छन् ।
राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलवार अखिल नेपाल महिला संघले आयोजना गरेको ‘महिला अधिकार कार्यान्वयनमा अवसर र चुनौती’ विषयक राष्ट्रिय भेला तथा प्रशिक्षणमा उनले आफ्नो पार्टीले नै संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता गराउने ऐतिहासिक निर्णय गरेको दाबी गरे ।
राष्ट्रपति र उपराष्ट्रपतिमा पनि १ जना महिला हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले यसपटक महिलालाई अवसर नदिएको तर्क गरे । उनले स्थानीय तहमा पनि गठबन्धनले साझा उम्मेदवार उठाउँदा २ वटै पुरुष उठाएर महिला अधिकारमा हनन् भएको टिप्पणी गरे ।
समाजमा महिला र पुरुषमा समान अधिकार र समान हैसियत प्रदान गर्नुपर्ने धारणा उनको छ ।
अध्यक्ष ओलीले मानिस मरिसकेपछि कसैले सम्झनुको अर्थ नहुने भन्दै आफ्नो सालिक नबनाउन समेत आग्रह गरे । ‘मरिसकेपछि किन सम्झिरहनु । बेकारमा सम्झिँदा मैले थाहा पाउने पनि होइन, त्यस कारण मेरो सालिक बनाउनु पर्दैन, मूर्ति बनाउनुपर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नुपर्दैन, मेरो धारणा त्यो हो,’ उनले भने ।
अखिल नेपाल महिला संघका उपाध्यक्ष मेनुका पोखरेलले महिला अधिकार पक्षमा अझै आन्दोलन गर्नुपर्ने बताइन् ।