०३ साउन २०८३, आइतबार

आज कांग्रेसका केन्द्रीय र सबै जिल्ला पार्टी कार्यालय बन्द

आज कांग्रेसका केन्द्रीय र सबै जिल्ला पार्टी कार्यालय बन्द

नेपाली कांग्रेसले केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयलाई आज बन्द गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेसले शोक मान्ने भएको हो ।

केन्द्रीय कार्यालयले स्व. पाण्डेप्रति सम्मान प्रकट गर्दै जेठ १६, १७ र १८ गते ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने जनाएको छ ।

जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनप्रति दुःख व्यक्त गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । सभापति देउवाले नेत्री पाण्डेको निधनको खबरले अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हकअधिकारका लागि उनले पुर्‍याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताए ।

पाण्डेको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको जनाएको छ ।

मंगलवार अपराह्न ५ बजे उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखी दाहसंस्कार गरिएको छ ।

विक्रम संवत् २००८ सालमा जन्मिएकी पाण्डेले विक्रम संवत् २०३५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन् । ३ पटकसम्म कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी स्व. पाण्डे विक्रम संवत् २०४८, २०५१ र २०७४ सालमा प्रतिनिधिसभा सदस्य थिइन् भने विक्रम संवत् २०६४ सालमा संविधानसभा सदस्य भएकी थिइन् ।

उनी कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको २ पटक सभापति भएकी थिइन् । नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका क्रममा उनले पटक–पटक जेल जीवन समेत व्यतित गरेकी थिइन् । उनको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्