
तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि विगत डेढ महिनादेखि सो सेवा ठप्प थियो ।
यसअघि डायलायसिस उपकरण बिग्रिँदा मिर्गौला पीडितलाई उपचारका लागि समस्या भएको थियो ।
गत वैशाखदेखि बिग्रिएका ७ मध्ये ५ उपकरण मंगलवार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मिर्गाैला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । उपचार केन्द्रमा कूल ११ उपकरण रहेकोमा ७ वटा बिग्रिएका थिए ।
राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो । उनले भने, ‘अब ९ वटा उपकरणबाट सेवा दिन सकिने भएको छ ।’ ४ वटा मात्रै उपकरण सञ्चालनमा हुँदा मिर्गौला पीडितलाई समस्या हुँदै आएको थियो । ४ वटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने गरेका थिए ।
११ वटै उपकरण सञ्चालन भए दैनिक २७ बिरामीले सेवा पाउन सक्छन् । केन्द्रले दैनिक बिहान ७ देखि राति ११ बजेसम्म डायलायसिस सेवा सञ्चालन गर्दैआएको छ ।
दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषि काफ्लेसँगको समन्वयमा उपकरण पुनः सञ्चालनमा ल्याइएको बताए । केन्द्रमा हाल डायलायसिस सेवा लिने बिरामीको संख्या ५० रहेको छ । अझै ३० मिर्गौलापीडित डायलायसिसका लागि पालो पर्खिंदैछन् । उनीहरू मिर्गौला उपचार केन्द्रमा डायलायसिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् ।
नियमितरूपमा गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलायसिस गरिरहेका छन् ।