३१ जेठ २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड आज महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्दै, संयुक्त पत्रकार सम्मेलन हुने

जेठ १८, २०८०
प्रधानमन्त्री प्रचण्ड आज महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्दै, संयुक्त पत्रकार सम्मेलन हुने

भारतको औपचारिक भ्रमणमा बुधवार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले बिहीवार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । 

त्यसक्रममा २ देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ ।

ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्ग लगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री दाहालको सम्मानमा बिहीवारै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि बिहीवारै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणको तेस्रो दिन अर्थात् शुक्रवार उनी मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची छ । त्यहाँ मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्नुका साथै इन्दोरमा अध्ययन भ्रमण समेत गर्नेछन् । प्रधानमन्त्री दाहाल शनिवार अपराह्न ४ः२० बजे दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ । – रमेश लम्साल/रासस
 

salt training

कमेन्ट गर्नुहोस्