२५ जेठ २०८३, सोमबार

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ ।

बीपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताल मेथिनकोट अस्पताल अभावकै बीच पनि सेवा प्रवाह गरिरहेको छ । 

मुख्यतया तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका नागरिकलाई सेवा प्रदान गर्न अपस्ताल स्थापना गरिएको हो । अस्पतालले चौबीसै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, एक्सरे फार्मेसी सेवा, विगत एक महिनादेखि हरेक दिन भिडियो एक्सरे सेवासमेत दिँदै आएको छ तर विशेषज्ञ चिकित्सक अभावका कारण सेवाग्राहीको रोजाइको केन्द्र भने बन्न सकेको छैन ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालमा अब छिट्टै डायलायसिस, शल्यक्रिया सेवा र ब्लड बैंक सेवा सञ्चालन हुने अस्पतालका डा. आनन्दमणि उपाध्यायले बताए । ‘आईसीयू र एनआईसीयू सेवा सञ्चालन समेत गर्ने तयारी छ,’ उनले भने ।

प्रदेश सरकारबाट प्राप्त ५ वटा डायलायसिस मशिन जडान गर्ने काम भइसकेकाले अब छिट्टै सेवा समेत शुरू हुने भएको छ । यी सबै सेवा सञ्चालनका लागि भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभाव मुख्य चुनौती बनेको छ । ५० शय्याको अस्पताल सञ्चालनका लागि पर्याप्त भौतिक संरचना आवश्यक भए पनि अहिले पूरानै संरचनाबाट सेवा दिनुपर्ने बाध्यता रहेको डा. उपाध्याय बताउँछन् ।

‘दैनिक ७०–७५ जनाले सेवा लिइरहेका छन्,’ उनले भने ।

अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डा. मधुकर दाहालले अस्पतालको सेवालाई चुस्तदुरुस्त गर्न कोसिस गरिरहेको बताए । जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक लठ्याउने औषधि नहुँदा सेवा शुरू गर्न नसकेको उनको भनाइ छ । अस्पतालका सुपरिन्टेन्डेन्ट डा. सारग जर्गामगर अध्ययन बिदामा गएपछि करीब १० महिना स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले हेर्दै आएका थिए । अहिले २ महिनादेखि निमित्त सुपरिन्टेन्डेन्ट डा. दाहालको नेतृत्वमा अस्पताले सेवा प्रवाह गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्