
सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
अहिले ठेक्का प्राप्त समयको हिसाबले काम कम भएको उनले बताए । ‘समयको हिसाबले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ र समयमै बन्नुपर्छ,' उनले भने ।
सबै भुक्तानी समयमै दिइरहेकाले निर्माण पक्षले सरकारको आवश्यक्तालाई बुझेर निर्माण कार्य सम्पन्न गर्नुपर्ने उनले बताए ।
उपसभामुख इन्दिरा रानाले सयमको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद् भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुनुपर्ने बताइन् । निर्माणधीन संसद् भवनको निरीक्षण गर्दै उनले ठेक्काको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।
मुखले मिठो बोलेर भन्दा पनि व्यवहारमा काम गरेर देखाउनुपर्ने उनको भनाइ छ । सययमै निर्माण सम्पन्न नगर्नेहरूमाथि सरकारले एक्सन लिनुपर्ने उनले बताइन् ।
शहरी विकासमन्त्री सीता गुरुङले नयाँ संसद् भवन निर्माणको म्याद सरकारले थप्न नसक्ने बताइन् ।
यसअघि सरकारले दुई पटकसम्म म्याद थपिसकेको भन्दै अब ठेक्का समय थप्न नसक्ने उनले बताइन् ।
आउँदो हिउँदे अधिवेशन नयाँ संसदबाट नै शुरू गर्ने सरकारको योजना रहेको उनले बताइन् ।