
सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।
सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यताविपरीत काम गरेको भन्दै महामन्त्री थापाले संघर्षमा उत्रिने चेतावनी दिएका हुन् । प्रेस युनियन नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले रेशम चौधरीलाई आममाफी दिने र नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम देउवाको एकल सहमतिमा भएको बताए ।
देउवाले पार्टीलाई उठ्नै नदिनेगरी दिएका ती सहमतिहरू आफूलाई सैह्य नहुने उनले बताए ।
पार्टी सभापति देउवाले गर्दै आएका गलत निर्णयविरुद्ध संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन नेता-कार्यकर्तालाई उनले आह्वान गरे । ‘नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण र दीर्घकालीन महत्वका निर्णयहरू गर्यो । आममाफी, नागरिकता विधेयक प्रमाणीकरण र सांसद विकास कोषको ब्युँताउनेलगायत कैयन विषयहरू छन्,' उनले भने, 'यी सबै विषयमा पार्टी सभापतिले एक्लै गर्नुभएको हो । यो परिपार्टी गएको एक/डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले यसलाई सहँदै र मान्दै आएँ । अब म सहन्नँ । यो क्रमलाई रोक्ने हो । अब लडेर रोक्ने हो । जुधेर रोक्ने हो । संघर्ष गरेर रोक्ने हो ।’
महामन्त्री थापाले पार्टीलाई ‘दाई’हरूको पार्टीको रूपमा नभई तल्लो तहका कार्यकर्ताको पार्टीमा रूपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा गरे ।