नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं जिल्ला अदालत काठमाडौंले हालसम्म १६ जनाको बयान लिइसकेको छ । जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार अहिले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र शरणार्थी नेता टेकराज रिजालको बयान भइरहेको छ ।
उनीहरूको बयान पनि आजै सकिने उनले बताए । अदालतले जेठ १२ गतेदेखि प्रतिवादीहरूको बयान लिन थालेको थियो ।
उनका अनुसार सबै प्रतिवादीले इन्कारी बयान दिएका छन् । आइतबारबाट थुनछेक बहस शुरू हुने दाहालले बताए ।
थुनछेक बहसपछि अदालतले उनीहरूलाई थुनामा पठाउने कि धरौटी लिएर पनि तारेखमा छोड्ने भन्ने आदेश दिने छ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा संलग्न ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियता विरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व-उपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना पक्राउ परेका छन् । प्रकरणका आरोपितमध्ये १२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।