
स्याङ्जाको पुतलीबजार–१४ सतौं कोटमा प्याराग्लाइडिङको परीक्षण उडान शुरू गरिएको छ ।
जिल्लाका विभिन्न ठाउँमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्नेक्रममा सतौं कोटबाट बिहीवार परीक्षण उडान गरिएको हो ।
सतौं कोटमा ‘टेकअप प्वाइन्ट’ बनाइएको छ भने आँधीखोलाको किनारमा ‘ल्याण्डिङ प्वाइन्ट’ सम्याउने काम गरिएको छ । सतौं कोटबाट उडेर पुतलीबजार–१० को राङखोला–११ को गैरीजाँगर र राङखोला–१३ को चारखुट्टे पुलको मुखमध्ये कुनै एक ठाउँमा अवतरण गर्न सकिन्छ ।
बाबु अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ स्कूल, बाबु एडभेञ्चर क्लब, रोडसाइड प्याराग्लाइडिङको प्राविधिक व्यवस्थापन, पुतलीबजार नगरपालिका र स्थानीय चण्डीकालिका सुव्यवस्था समितिको व्यवस्थापन तथा सहयोगमा पूर्वाधार निर्माण गरी परीक्षण उडान गरिएको बाबु एडभेञ्चर क्लबका अध्यक्ष जंग केसीले बताए ।
‘सतौं कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ,’ उनले भने, ‘यसको प्रचारप्रसार र व्यवस्थापनमा जोड दिई क्रमशः व्यावसायिक उडानको तयारी गर्ने छौं ।’
सतौं कोटमा प्याराग्लाइडिङको सम्भावना देखेर परीक्षण उडान गरिएको र सफल भएसँगै व्यावसायिक उडानतर्फको तयारी थालिएको उनले बताए ।
जिल्लामै सञ्चालनमा रहेका कम्पनी तथा बाहिरी कम्पनीले पनि यहाँबाट व्यावसायिक उडान गर्न सक्नेछन् । ‘टेकअप’ र ‘ल्याण्डिङ’ प्वाइन्ट सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, राम्रो हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यले मनमोहक भएकाले पनि यहाँ प्याराग्लाइडिङ गर्नेको संख्या बढ्ने उनको विश्वास छ ।