०५ साउन २०८३, मंगलबार
नक्कली शरणार्थी प्रकरण

बालकृष्ण खाँणको बयान- धार्मिक प्रवृत्तिको व्यक्ति हुँ, अनुचित लाभ लिनेबारे सोच्न पनि सक्दिनँ

जेठ २०, २०८०
काठमाडौं
बालकृष्ण खाँणको बयान- धार्मिक प्रवृत्तिको व्यक्ति हुँ, अनुचित लाभ लिनेबारे सोच्न पनि सक्दिनँ

पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले आफू धार्मिक व्यक्ति भएको भन्दै जनता झुक्याउने र अनुचित लाभ लिने कार्य गर्नेबारे सोच्न पनि नसक्ने भन्ने बयान दिएका छन् ।

नक्कली भुटाटी शरणार्थी प्रकरणको ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष उनले राज्यको विभिन्न पदको दुरुपयोग नगरेको बयान दिएका हुन् ।

‘म २०४८ सालमा प्रतिनिधिसभाको सदस्य, २०६४ साल र २०७० संविधानसभाको सदस्य, २०७४ मा प्रतिनिधिसभाको सदस्य बनेँ, साथै विभिन्न मितिमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाएँ’ उनले बयानमा भनेका छन्, ‘मैले चौथोपटक मन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानूनको पालना गर्दै देशमा शान्ति व्यवस्था र अमनचैन कायम गर्ने भूमिका निर्वाह गरेको छु । म विभिन्न रोगहरूको निवारणको लागि नियमित औषधि सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन । म ईश्वरमा विश्वास गर्दछु । म धार्मिक प्रवृतिको व्यक्ति हुँ । जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।’

यतिमात्रै होइन उनले यो प्रकरणमा आफ्नो कुनै संलग्ता नरहेको र राजनीतिक करियर सिध्याउनलाई राज्यले नै चाल चलेको आरोपसमेत लगाएका छन् ।

‘म विरुद्ध लगाइएका सबै अभियोग मागदाबीहरू कपोलकल्पित र झुट्टा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन नियोजितरुपमा राज्यले रचिएको षड्यन्त्र हो’ उनको दाबी छ, ‘माथि अभियोगमा दाबी लिएको कुनै पनि कसुरमा मेरो कहीकतै संलग्नता छैन । यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित पनि गरेको छैन ।’

आफूलाई फसाउन खोजेको भन्दै उनले न्यायका लागि न्यायाधीशसमक्ष याचना गरेका छन् । ‘जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्याधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्यविरुद्धको कसुरमा समेत अभियोग लगाइएको छ’ उनले भने, ‘यो सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्त विपरीत हो । मलाई फसाउने उद्देश्यले यी सबै झुट्टा आरोप र मुद्दाहरू लगाइएका हुन् । त्यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उच्च कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाउँ । सफाइ पाउँ ।’

बयानका क्रममा न्यायाधीशले गरेको सम्पत्तिको प्रश्नमा उनले जग्जा जमिन र घरभाडाबाट आउने पैसाले आफ्नो जीवन सहज चलेको बताएका छन् ।
‘मेरो परिवारमा म, श्रीमती, छोराछोरी र मेरी आमा गरी पाँच जनाको सदस्य छौं । बुटवलमा एउटा घर छ, सो घरबाट भाडा आउँछ, जग्गा जमिनबाट पनि भाडा आउँछ । जग्गा जमिनबाट केही कृषिजन्य उत्पादन हुन्छ’ उनले भनेका छन्, ‘काठमाडौं अनामनगरमा एउटा पुरानो घर छ, सोबाट समेत भाडा आउँछ । कोटेश्वरको सुविधानगरमा भएको जमिनबाट भाडा आउँछ । यी आम्दानीबाट हाम्रो जीवन सहजसँग चलेको छ ।’
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा मुछिएका केशव दुलाललाई आफूले नचिन्ने उनको दाबी छ ।

आफ्ना तत्कालीन स्वकीय सचिव नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई पीडितको रकम फिर्ता गर्न पैसा नदिएको दाबी पनि गरेका छन् ।
केशव दुलाल र सानु भण्डारीलाई इन्कारी बयान गर्न नलगाएको पनि उनको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्