
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ ।
अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा २०० शय्या थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।
जापानको ओकायामामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरु सुगानामी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, आम्दा नेपालका पूर्व अध्यक्ष डा. रिशिकेश श्रेष्ठ र आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले आम्दा अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार आम्दा इन्टरनेशनलले आम्दा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने आम्दा अस्पतालका अध्यक्ष समेत रहेका बुटवल उपमहाननगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
आम्दा अस्पताललाई ३ सय शय्यामा स्तरोन्नति गर्नुका साथै मेडिकल कलेजकारुपमा स्थापित गर्नका लागि आवश्यकताअनुसार प्रक्रिया अगाडि बढाउने गरी समझदारी भएको उनले बताए ।
गत असोजमा आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरू सुगानामीको बुटवल भ्रमणका क्रममा अस्पतालको स्तरोन्नतिका लागि सहमति गर्दै आवश्यकताअनुसार समझदारी गर्ने निर्णय भएको थियो ।
२०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो ।
५० शय्याबाट शुरु भएको अस्पतालले अहिले स्तरोन्नति गर्दै १०० शय्या सञ्चालन गरिरहेको छ ।