११ असार २०८३, बिहीबार

३३ बिघा ऐलानी जग्गामा तरकारी खेती गर्ने महानगरको तयारी

जेठ २४, २०८०
काठमाडौं
३३ बिघा ऐलानी जग्गामा तरकारी खेती गर्ने महानगरको तयारी

वीरगन्ज महानगरपालिकाले वडा नं ३१ लक्ष्मीपुरस्थित उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको छ । महानगरबाट खटिएको जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहीन रहेको ३३ बिघा चार कठ्ठा १० धुर ऐलानी जग्गा सामूहिक तरकारी खेतीका लागि छुट्याएको छ ।

तरकारीबाली पकेट विकास कार्यक्रमअन्तर्गत उक्त जग्गा स्थानीयस्तरमा कृषि समूह गठन गरी तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाको कृषि शाखाका प्रमुख कृषि अधिकृत रोशनी यादवको भनाइ छ ।

बेरोजगार रहेका स्थानीयलाई कृषि कर्ममा आकर्षित गरी आत्मनिर्भर बनाउन र किसानहरूको आयआर्जन बढाउने उद्देश्यले उपयोगविहीन खेतीयोग्य ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

तरकारी खेतीका लागि जग्गा छुट्याउन गएको टोलीमा महानगरको भौतिक संरचना नियन्त्रण समितिका संयोजक प्रदीप चौरसिया, महानगरप्रमुख सिंहको सचिवालय सल्लाहकार हरि पोखरेल, महानगरको आर्थिक विकास महाशाखाका अधिकृत प्रतिज्ञा वैद्य, नगर प्रहरी प्रमुख हरि भुुसाल, अमिन देवलाल साहलगायतको सहभागिता थियो ।

यसअघि समाचारमा वीरगन्ज महानगरपालिकाको तस्बिर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ -सम्पादक

salt training

कमेन्ट गर्नुहोस्