
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गरिने भएको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालस्थित औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको हो ।
त्यस्तै सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेधगरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय गरेको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको जमिन बंगलादेश जाने फुलबारी नाकाको जमिनसँग सट्टापट्टा गर्ने कुरा आफूले प्रस्ताव नगरेको स्पष्ट गरेका छन् ।
बुधवार राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक बैठकमा जमिन सट्टा पट्टाको कुरा नगरेको स्पष्ट पारेका हुन् ।
प्रचण्डले भारत भ्रमणका क्रममा राज्यमन्त्रीले गरेको स्वागतबाट आफू अपमानित नभएको दाबी पनि गरेका छन् ।
००००
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको आरोप लगाएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले सोमवारको बैठकमा प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर अन्य सदस्यहरूलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको बताएका हुन् ।
००००
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०–०८१ को बजेट समाजवादविमुख भएको टिप्पणी गरेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले बजेट समाजवादविमुख भएको टिप्पणी गरेका हुन् । बजेट संविधानले परिकल्पना गरे अनुरूपको समाजवादउन्मुख नभएको उनले बताए ।
००००
राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एमालेले ७० वर्षको उमेर हद हटाएकोमा खुसी व्यक्त गरेका छन् । बुधवार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमालेले उमेर हद हटाएकोमा खुसी व्यक्त गरेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले बोलाए आफू निस्सर्त र खुसीसाथ एमालेमा फर्किने उनले बताए । एमालेले केही दिनअघि पार्टीमा सर्कुलर पठाउँदै विभिन्न निर्णय भएको जानकारी दिएको थियो । सो सर्कुलरबाट जिम्मेवारी पनि हेरफेर गरिएको थियो ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताएका छन् ।
करिब दुई साता लामो विदेश भ्रमणबाटस्वदेश फर्किएपछि अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गर्न चाहिरहेको बताउँदै त्यसका लागि उनीहरूको लगानी सुनिश्चित गर्न आवश्यक नीति निर्माण तथा वातावरण बनाउनुपर्नेमा जोड दिए ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ ।
बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको छ ।
००००
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी सानु भण्डारीलाई मुख्य योजनाकार तथा मुख्य नाइकेको रूपमा प्रस्तुत गरिएकोमा उनका कानून व्यवसायीले आपत्ति जनाएका छन् ।
सीम कार्ड बेचेर व्यवसाय गुजारा गर्ने व्यक्तिलाई नक्कली शरणार्थी प्रकरणको मुख्य योजनाकारको रूपमा अभियोजनकर्ताले पेश गरेकोमा इजलासमा आपत्ति जनाएका हुन् ।
००००
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले इन्टरपोलका प्रमुख अहमद नासेर अल–रैसी र महासचिव जर्गेन स्टकलाई प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरले बुधवार शिष्टाचार भेटवार्ता गरेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधवार भएको भेटमा नेपाल र स्वीट्जरल्याण्डको आपसी सम्बन्ध र द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
००००
नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुल्ला गरिदिनुपर्ने बताएको छ ।
अल्पमतमा परेको सरकारले अध्यादेशमार्फत बजेट ल्याउनुभन्दा नयाँ सरकारलाई मार्गप्रशस्त गरिदिनुपर्ने कांग्रेसले जनाएको छ ।
००००
कोशी प्रदेश सरकारले प्रदेशको नामकरणमा असन्तुष्ट पक्षसँग वार्ता गर्न समिति बनाएको छ ।
बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नामकरणमा असन्तष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न खानेपानी तथा सिचाईं मन्त्री तिलकुमार मेनाङवाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको सरकारका प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए ।
००००
हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन्।
मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए।
००००
शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ ।
००००
मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले दुई गोल गरे भने विमल घर्तीमगरले एक गोल थपे ।