
भक्तपुरबाट खोटाङका लागि छुटेको जिप सुनकोशी खस्दा बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ ।
सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव ८ दिनपछि भेटिएको प्रहरीले जनाएको छ ।
बेपत्ता भुर्तेलको शव दुर्घटनास्थलबाट झण्डै ९५ किलोमिटर तल उदयपुर ताप्ली गाउँपालिका ५ मा सुनकोशी नदीको किनारमा फेला परेको थियो ।
यही जेठ १९ गते खोटाङतर्फ जाँदै गरेको बा १ झ ७४६७ नम्बरको जिप सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक भुर्तेल र विद्युत प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए ।
बेपत्तामध्ये केसी र पौडेलको शव जेठ २३ गते फेला परेको थियो । उनीहरूको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलबाट एक सय ५० मिटर तल जिपसँगै फेला पारेको थियो ।
जिपका चालक कृष्ण चौधरी भने पौडिएर बाँचेका थिए ।