१६ असार २०८३, मंगलबार

हिमालय ट्राभल मार्ट : गन्तव्य बजारमा दरिलो उपस्थिति जनाउने प्रतिबद्धता

जेठ २७, २०८०
काठमाडौं
हिमालय ट्राभल मार्ट : गन्तव्य बजारमा दरिलो उपस्थिति जनाउने प्रतिबद्धता

कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान र प्रवर्द्धन तथा दीगो पर्यटन विकासमा रणनीतिक योजनाका साथ गन्तव्य बजारमा दरिलो उपस्थिति जनाउने सामूहिक प्रतिबद्धताका साथ हिमालय ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सम्पन्न भएको छ ।

     संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लगायत पर्यटन क्षेत्रका सङ्घ संस्थाहरूको सहयोग तथा समन्वयमा प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले यही जेठ २३ देखि २६ सम्म आयोजना गरेको मार्टमा विभिन्न २५ मुलुकका सात सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता थियो ।

     यसअघि मार्टको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललगायत हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि हिमालयन ट्राभल मार्ट प्रमुख मञ्च बनेको बताए । उनले नेपाललाई हिमालय प्रवेशद्वारका रूपमा पहिचान गराउँदै नेपालको पर्यटन प्रवर्द्धनका मार्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

     पर्यटन राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले नेपाल पर्यटनका लागि अथाह सम्भावनाको गन्तव्य भएकाले सरकारी तथा निजी क्षेत्रका सम्पूर्ण सरोकारवालाले  एकजुट भएर प्रवर्द्धनमा जुट्नुपर्ने बताइन् । 

    पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ट्राभल मार्टले नेपालको पर्यटन सम्भाव्यता उजागर गर्दै विश्वभरका ट्राभल ट्रेड व्यवसायीसँग सम्पर्क स्थापित गर्न मार्टले उत्कृष्ट अवसर प्रदान गरेको बताए ।

     नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपालको पर्यटन प्रवर्द्धनका लागि मार्टले सहयोग पुग्ने बताए ।
     त्यसैगरी कार्यक्रममा लर्ड ब्रायन विल्की–मास्टर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर, पाटा अन्तर्राष्ट्रियका उपाध्यक्ष बेन्जामिन लियाओलगायतले पर्यटनका विभिन्न आयामहरूबारे प्रस्तुति दिएका थिए  ।

     “रिकनेक्टिङ, रिबिल्डिङ एन्ड रिइन्भिगोरेटिङ” भन्ने मूल नाराका साथ आयोजित मार्टमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभावशाली वक्ताहरूद्वारा असल उड्डयन क्षेत्र, नेपालको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरूको सम्भावनाबारे बहस गरिएको थियो । चिनियाँ यात्रुहरूको पुनरागमन, युरोपेली पर्यटकको यात्रा प्रचलन र नेपालका लागि पर्यटनका अवसर तथा दीगो पर्यटनको निर्माण, क्षेत्रीय पर्यटन सम्भाव्यताको प्रवर्द्धन, जलवायु परिवर्तन, दीगो पर्यटन, रेजिलियन्स, साहसिक पर्यटन र शिक्षामा नवीन अभ्यासलगायत विभिन्न समसामयिक विषयमा छलफल गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्