
आइएमई लिमिटेडले रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र सुरक्षित बनाउने प्रतिबद्धता गरेको छ । आफ्नो स्थापनाको २३औं वर्ष प्रवेशको अवसरमा सोमवार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर आइएमईले यस्तो प्रतिबद्धता जनाएको हो ।
‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरू, आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रममा आइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै यस यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राहीहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभचिन्तकहरूमा आभार व्यक्त गरेका थिए ।
ग्राहकको रोजाई, आवश्यकता तथा बजार गतिशिल भइरहेको उल्लेख गर्दै उनले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउदै लैजाने बताए । वैधानिक माध्यमबाट रेमिट्यान्स भित्राई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्ना व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने प्रबन्ध निर्देशक ढकालको भनाइ थियो ।
सोही अवसरमा आइएमई लिमिटेडका सञ्चालक तथा आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रर्वद्धन गरेर रेमिट्यान्स सेवालाई थप परिष्कृत बनाइने बताए ।

त्यसैगरी उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई कार्यक्रममा स्वागत गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आइएमई आफ्ना विविधिकृत सेवाहरूको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्षरुपमा जोडिँदै अघि बढ्ने बताए ।
उक्त समारोहमा कम्पनीमा १० वर्ष भन्दा लामो समयदेखि सेवारत कर्मचारीहरू तथा लामो समयदेखि कम्पनीमा आवद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो ।
त्यसैगरी वार्षिकोत्सवको अवसर पारेर अयोजना गरिएको अन्तरकम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिष्पर्धाका विजेता र उपविजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।
कलाकार तथा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय दीपकराज गिरी तथा दीपाश्री निरौलाको समेत सहभागिता रहेको समारोहमा कमेडियन सुमन कार्कीको हास्य प्रस्तुति तथा कम्पनीका कर्मचारीहरूको विभिन्न सांस्कृतिक प्रस्तुति रहेको थियो ।
स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध कम्पनीले सेवा शुभारम्भको २३औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पुर्याउँदै आइरहेको छ ।